“सिँचाइ अभावमा हुम्लाका सयौं हेक्टर खेत सुक्खा, किसान आकाशतिर हेरिरहँदा योजना भने फाइलमै”

  • नमस्ते कर्णाली

  • २९, असार २०८२

    हुम्ला।साउनको सुरुवात भइसके पनि हुम्लाको अदानचुली गाउँपालिकामा सयौं हेक्टर खेतबारी अझै सुक्खा छन्। धान र कोदो रोप्नका लागि बीउ उम्रिए पनि खेतमा पानी नहुँदा किसान चिन्तित बनेका छन्। वर्षाको भरमा खेती गर्दै आएका किसानहरू यस वर्ष वर्षा नहुँदा निराश हुँदै आकाशतिर हेर्न बाध्य छन्।

    स्थानीय किसान ललित बुढा भन्छन्, “धान, कोदो रोप्न बीउ तयार छ, तर खेतमा पानी छैन। बीउ सुक्न थालेको छ, किसानलाई योभन्दा ठूलो पीडा के होला?” उनका अनुसार नहरका लागि आवश्यक पानीको मुहानसमेत छैन, बाढीले बनाएका नहरहरू भत्किएका छन्, र नयाँ सिँचाइ योजनाहरू फाइलमै थन्किएका छन्।

    गत वैशाखमा आएको बाढीले अधिकांश सिँचाइ कुलोहरू क्षतिग्रस्त पारेको छ। खोलाबाट आउने पानीको व्यवस्थापन नहुँदा खेतमा पानी पुर्‍याउन नसकिएको किसानहरूको गुनासो छ। किसानहरू भन्छन्, “सिँचाइको योजनाभन्दा पनि व्यक्तिगत गेट, पर्खाल, मोटरेबल सडक र बोर्ड बनाउनेमा मात्रै बजेट खर्च भइरहेको छ।”

    गाउँपालिकाले ‘कृषिमा आधुनिकीकरण’का लागि बजेट छुट्याएको दाबी गरे पनि सोलार पम्प, डिप बोरिङ र कुलो निर्माण जस्ता महत्वपूर्ण योजनाहरू फाइलमै रोकिएका छन्। कृषि क्षेत्रको अत्यावश्यक पूर्वाधारमा लगानी नहुनु र योजनाको कार्यान्वयन नहुनु किसानहरूको अवस्था झनै कमजोर बनाउँदै लगेको छ।

    “खेत सुक्छ, किसानको आवाज सुनिँदैन”, स्थानीयले गुनासो गरे। यस्ता समस्याले गर्दा अदानचुलीका किसानको कृषि उत्पादन र आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ। समयमै वैकल्पिक सिँचाइ व्यवस्था नभए यस वर्षको धान र कोदोको उत्पादन गम्भीर रूपले प्रभावित हुने निश्चित छ।

  • २९ असार २०८२, आईतवार ०९:५८ प्रकाशित

  • Nabintech