२, साउन २०८२
जुम्ला। कर्णालीको पहाडी जिल्ला जुम्लामा परम्परागत र सांस्कृतिक रूपले अद्वितीय साउने संक्रान्ति बिहीबार उत्सवपूर्वक मनाइएको छ। “लुतो फाल्ने दिन”का रूपमा चिनिने यो दिन जुम्लाका घर–घरमा राँको बाल्दै एक–आपसमा गाली गर्ने अनौठो तर गहिरो अर्थ बोकेको संस्कारलाई पुस्तौँदेखि निरन्तरता दिइँदै आएको छ।
साउने सक्रान्तिमा बिहानै नुहाएर शरीरमा तेल लगाइ सरसफाइ गर्ने, खेतिपाती सकिएपछि हिलो र पसिनाले आक्रान्त शरीरलाई आराम दिने उद्देश्यले यो परम्परा जुम्लाबासीले सदियौँदेखि पालना गर्दै आएका छन्। घरको अगेनाबाट सल्काइएको कुरीलो र तितेपातीको राँको छतमा बालेर, चारैतिर घुमाउँदै “लुतो लैजाउ” भनी छिमेकी गाउँतिर गाली गर्ने प्रचलन आज पनि उत्तिकै जीवन्त छ।
परम्पराअनुसार, साझपख राँको फालिसकेपछि शरीरमा खटिरा वा लुतो देखिएमा कुकुरडाइनो जलाएर मलहम बनाउने परम्परा छ। देउडा गीत गाएर, फूलपाती बटुलेर, शंख र घण्टाको धुनमा समुदाय सामूहिक रूपमा रमाउने यो दिन जुम्ला मात्रै नभई सम्पूर्ण खस संस्कृति बोकेको कर्णाली क्षेत्रमा मनाइन्छ।
परम्परागत संस्कार र आधुनिकता सँगसँगै
साउने सक्रान्तिको दिनलाई कर्कट संक्रान्तिका रूपमा पनि चिनिन्छ, जसमा सूर्य दक्षिणायनमा प्रवेश गर्छ। आधुनिक घरहरूमा छत नभए पनि आँगन र सडक छेउमा राँको बाल्ने परम्पराको निरन्तरता कायम गरिएको छ।
संस्कृतिविद् रमानन्द आचार्यका अनुसार, यो पर्व स्वास्थ्य, धार्मिक आस्था र सामाजिक मेलमिलापको प्रतीक हो। असारे हिलोबाट जोगिन, रोगप्रतिरोध बढाउन, दुध, दहीको सेवन गरेर स्वास्थ्यप्रद भोजन गर्नु साउने संक्रान्तिको एउटा सन्देश हो।
सामाजिक सौहार्द र महिलाको सहभागिता
यस दिन दिदीबहिनीहरू माइतीघर पुगेर मीठा परिकार बनाउने, हरियो चुरा र पोते लगाएर शिवको आराधना गर्ने गर्छन्। व्रत, उपासना र शिव भक्ति मार्फत आफ्ना परिवारको दीर्घायु र समृद्धिको कामना गरिन्छ।
कर्णाली प्रदेश सरकारले यो दिनलाई स्थानीय महत्वका रूपमा स्वीकार गर्दै यसपटक राजपत्रअनुसार विदा दिएको छ। नेपाली भाषाको उद्गमस्थल सिंजा सहित जिल्लाभरी झलमल भएका राँका, गुञ्जिएको गाली र देउडाको स्वरले जुम्ला सांस्कृतिक रूपमा उज्यालिएको छ।
एकैसाथ स्वास्थ्य, लोकविश्वास र सांस्कृतिक चेतनाको अद्वितीय मिसालका रूपमा जुम्लाको साउने संक्रान्तिले फेरि प्रमाणित गर्यो—परम्पराले नै सभ्यता बाँचाउँछ।