५, साउन २०८२
बाँके ।पश्चिम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण बागेश्वरी मन्दिर परिसरभित्र रहेको जुंगे महादेव (खडेश्वर) मन्दिर सोमबारदेखि औपचारिक रूपमा पूजा–अर्चनाका लागि खुला गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको पहलमा नवनिर्मित अष्टधातुका जुंगे महादेवको मूर्ति, पूजाघर, पुल र घाटको समेत आज विधिवत् उद्घाटन गरिएको हो।
मूर्ति स्थापना (प्राण–प्रतिष्ठा) तथा धार्मिक अनुष्ठानमार्फत सम्पन्न भएको यस उद्घाटन समारोहमा जनप्रतिनिधि, विभिन्न क्षेत्रका अगुवा, समाजसेवी, धार्मिक व्यक्तित्वलगायतको विशेष उपस्थिति रहेको समितिका सदस्य सुनिलसिंह हमालले जानकारी दिनुभयो।
गुठी समितिको व्यवस्थापनमा निर्माण सम्पन्न भएका संरचनाहरूले मन्दिरको धार्मिक महत्व थप बढाउने विश्वास लिइएको छ। स्थानीय श्रद्धालुहरूका अनुसार जुंगे महादेव मन्दिरलाई फेरि खुल्ला गरिनु धार्मिक आस्थाको पुनः जागरण हो, जसले क्षेत्रीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ।
बागेश्वरी मन्दिर परिसरको सौन्दर्यमा थप आकर्षण थप्ने गरी नवनिर्माण भएको जुंगे महादेव मन्दिर अब सर्वसाधारणका लागि नियमित पूजा, दर्शन र धार्मिक गतिविधिका लागि खुला गरिएको छ।