१०, साउन २०८२
बाँके ।बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सूर्य ढकालले आज संसद्मा बोल्दै देशको समग्र विकासका लागि राजधानी काठमाडौंको गति तेज गर्नुपर्नेमा जोड दिएका छन्। उनले वर्तमान समयमा किसानदेखि व्यापारीसम्मका समस्या क्रमशः सम्बोधन भइरहे पनि मूल कुरा राजधानीको अस्तव्यस्ततालाई सम्बोधन नगरेसम्म देशमै प्रभावकारिता आउन नसक्ने धारणा राखे।
सांसद ढकालले प्रधानमन्त्री तथा सरकारको ध्यानाकर्षण गराउँदै राजधानीको दैनिकी जनताको उत्पादकमुलक समय खेर जाने गरी ढिलो र जामयुक्त भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। “काठमाडौं उपत्यकाभित्र ३० मिनेट लाग्ने ठाउँ पुग्न डेढ घण्टा लाग्छ,” उनले भने, “एक जनाको एक घण्टा बच्दा १० लाख जनताको १० लाख घण्टा बचत हुन्छ। त्यो घण्टा श्रम र उत्पादनमा लगाउन सके लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ। राजधानी ढिलो हुनु भनेको देश नै ढिलो हुनु हो।”
उनले कृषकहरूको समस्यातर्फ पनि संकेत गर्दै भने, “किसानले अझै मल पाउन सकेका छैनन्, उखु किसानको समस्या जस्ताको तस्तै छ, दुग्ध किसानले मूल्य पाएका छैनन्, कृषि बीमा प्रभावकारी छैन, अनुदान वास्तविक किसानसम्म पुग्न सकेको छैन। पानी नपरेर धान रोप्न समेत नसकेको अवस्था छ। उता उद्यमी तथा व्यापारीहरू सरकारी कर्मचारीबाट हैरान छन्। यी विषय सरकारको ध्यानमा छन् र क्रमशः समाधान हुँदै जानेछन्।”
सांसद ढकालले आफूले उठाउन खोजेको मुख्य विषय भने काठमाडौंको अव्यवस्थित जीवनशैलीलाई व्यवस्थित गर्ने उपाय हो भन्ने स्पष्ट पारे। उनले सदनलाई सम्बोधन गर्दै राजधानीका समस्या समाधान गर्न ठोस सुझावहरू पनि प्रस्तुत गरे। उनका अनुसार:
– काठमाडौं उपत्यकालाई चौबीसै घण्टा सञ्चालनमा ल्याउनु,
– विद्यालय र कलेजहरू बिहान र साँझ सर्ने वातावरण बनाउनु,
– ढुवानीका सामग्री रातको ६ बजेदेखि बिहान ४ बजेसम्ममात्र सञ्चालन गर्न दिने,
– दिउँसो १ बजेदेखि राति १ बजेसम्म व्यापार गर्न प्रोत्साहन गर्ने,
– सबै सरकारी काम अनलाइनमार्फत सञ्चालन गर्ने,
– सिंहदरबार र अन्य सरकारी विभागका ५०% कर्मचारी प्रदेश र स्थानीय तहमा खटाउने व्यवस्था मिलाउनु।
सांसद ढकालले यी उपाय तत्काल लागू गर्न सकिने व्यवहारिक उपाय भएको भन्दै यसबाट काठमाडौंका जनताले राहतको महसुस गर्ने र सरकारले केहि गरिरहेको छ भन्ने विश्वास जनतामा बढ्ने बताए।
उनले निष्कर्षमा भने, “पढ्दै कमाउँदै भन्ने नारा कार्यान्वयन हुनेछ। व्यापार फस्टाउनेछ, रोजगारी र राजस्व बढ्नेछ, विकास योजनाहरूलाई गति मिल्नेछ, अनि जनताले परिवर्तनको अनुभूति गर्नेछन्। जनतामा परिवर्तनको अनुभूति भयो भने संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास अझ सशक्त बन्नेछ।”
सांसद ढकालको यो पहल राजधानीको अव्यवस्था सुधार्दै देशको समग्र विकासमा योगदान पुर्याउने दिशातर्फको सकारात्मक संकेतका रूपमा लिइएको छ।