१०, साउन २०८२
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट पाठ सिक्दै चालु आर्थिक वर्षको बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्न सबै सरोकारवालालाई निर्देशन दिनुभएको छ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको वार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठीमा बोल्दै मुख्यमन्त्री कँडेलले योजना केवल कागजमा सीमित नहोस् भनेर समयमै र परिणाममुखी ढंगले लागू गर्नुपर्नेमा जोड दिनुभयो।
“विगतमा के–कस्ता कमजोरी भएका थिए, त्यसबाट सिकेर यो वर्ष सुधार गर्दै जानुपर्छ,” उहाँले भन्नुभयो, “बजेट निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता, जबाफदेहिता र समन्वय अनिवार्य छ।”
मुख्यमन्त्री कँडेलले योजना कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, कमजोर अनुगमन र गुणस्तरहीन निर्माणका समस्या दोहोरिन नदिन मन्त्रालयका सचिव र कार्यालय प्रमुखहरूलाई विशेष निर्देशन दिनुभयो।
जनताको वास्तविक आवश्यकता पहिचान गरेर योजना बनाउँदा मात्र त्यसले प्रत्यक्ष प्रभाव पार्ने भन्दै उहाँले संघीय, स्थानीय तह, मन्त्रालय र आयोजनाबीचको समन्वय मजबुत पार्नुपर्नेमा जोड दिनुभयो।
“अनुगमन प्रणाली मजबुत बनाउने हो भने मात्रै जनताले सरकारको विकास अनुभूति गर्न सक्छन्,” उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुख तथा जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो।