१०, साउन २०८२
जुम्ला।जुम्लाको तातोपानी गाउँपालिकाले कृषकहरूलाई गुणस्तरहिन गँड्यौंला मल वितरण गरिएको गुनासो आएपछि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। वडा नं. ४ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता अमरबहादुर रोकायाको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
गत मंगलबार र बुधबार गाउँपालिकाले कृषकहरूलाई गँड्यौंला मल वितरण गरेको थियो। तर, मल रातो माटोझैँ देखिएपछि कृषकहरू शंकित बनेका थिए। गुणस्तरप्रति आशंका बढेपछि जनगुनासो व्यापक बनेको थियो।
गाउँपालिकाले यो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै, प्राविधिक त्रुटिका लागि क्षमा मागेको छ।
गएको आर्थिक वर्षदेखि ‘जनतासँग उपाध्यक्ष’ कार्यक्रमअन्तर्गत कृषकलाई मल वितरण थालिएको थियो। चितवनस्थित दिव्य अर्गानिक फर्टिलाइजर कम्पनीमार्फत मल ल्याइएको हो। कम्पनीका सञ्चालक नरेन्द्र गिरीका अनुसार २०७४ सालदेखि झण्डै एक लाख किलो मल जुम्लामा पुर्याइएको थियो।
कृषकहरूको आरोप अनुसार, गाउँपालिका कार्यालय नजिकै दुई वर्षदेखि स्टोर गरिएको मल नै अहिले वितरण गरिएको हो। यसपटक ३५५ बोरा मल वितरण गरिएको थियो, जसको खरिदबापत कम्पनीलाई तीन लाख १५ हजार रुपैयाँ भुक्तानी भइसकेको गाउँपालिकाले जनाएको छ।
कृषकहरूले भने, गुणस्तरहिन मलको प्रयोगले उत्पादनमा असर पर्न सक्ने भन्दै जिम्मेवार निकायलाई कारबाही गर्न माग गरेका छन्। गाउँपालिकाले निष्पक्ष छानबिन गरेर आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।