११, साउन २०८२
नवलपरासी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु¥याउने गरी सरकारले भूमिका बढाउदै लगेको बताउनुभएको छ । प्रदेश सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच स्थापना गर्ने उद्देश्यले मातहतका अस्पतालहरूको सेवा, सुविधा र संरचना सुदृढ बनाउँदै लगेको स्पष्ट पार्नु भएको हो ।
शनिबार पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपचार सेवा जनताको पहुँचमा पु¥याउन सरकार सबै तहबाट सक्रिय रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘हिजोको अवस्था के थियो ? हाम्रा अस्पताल कस्ता थिए ? त्यहाँ कस्तो सेवा, सुविधा थियो ? अहिले कस्ता भएका छन् ? तुलना गर्न जरुरी छ । प्रदेश सरकार बनेपछि अस्पतालको सेवा सुदृढ भएका छन् । विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु¥याइरहेका छौं ।’
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई स्वास्थ्य सेवा तर्फ उत्कृष्ट प्रदेश बनाउने गरी सरकारले लगानी गरिरहेको स्पष्ट पार्नुभयो । अस्पताललाई रिफर गर्ने होइन, त्यहीँ उपचार गर्न सक्ने बनाउने लक्ष्यतर्फ सरकार अघि बढेको उल्लेख गर्दै उहाँले स्वास्थ्यकर्मीलाई सेवा प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउन निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो – ‘स्वास्थ्यकर्मीहरूलाई भन्न चाहन्छु, काबु बाहिरका जटिल रोगबाहेक अन्य सबै सेवा यहीँबाट दिनुपर्छ । बिरामीलाई उपचार गर्नु भन्दा रिफर गर्दा आनन्द मान्ने प्रवृत्ति रोक्नैपर्छ ।’
मुख्यमन्त्री आचार्यले अस्पतालमा मृगौलाको डायलासिस सेवा विस्तार गरिएको, आँखा उपचारका लागि छुट्टै कक्ष निर्माण भएको समेत जानकारी दिनुभयो । पछाडि परेका भूगोल, क्षेत्र र समुदायलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम अगाडि बढाइएको जानकारी दिंदै उहाँले पश्चिम नवलपरासीलाई हेर्ने दृष्टिकोणमा कमजोरी आउन नदिइने स्पष्ट पार्नुभयो । उहाँले क्रमागत, बहुवर्षीय तथा वार्षिक योजनामा यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो ।
मुख्यमन्त्री आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले संयुक्त रूपमा पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्नु भएको हो । स्थापना भएको ११४ वर्ष पुरानो अस्पताल हाल ५० शैयाको क्षमतामा सञ्चालनमा छ । प्रदेश सरकारको १३ करोड ६६ लाख रुपैयाँ लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो ।
हाल अस्पतालमा ५९ जना कर्मचारी दरबन्दी कायम छ । जसमध्ये मेडिकल सुपरिटेन्डेन्ट १ जना, जनरल मेडिसिन २, सर्जरी २, गाइनेकोलोजी (महिला तथा प्रसूति रोग) ३, हाडजोर्नी १, नेत्र (अप्थाल्मोलोजी) १, रेडियोलोजी १, जेरियाट्रिक १, मेडिकल अधिकृत ४ तथा डेन्टल सर्जन २ जना गरी १९ जना चिकित्सक कार्यरत छन् ।
अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, निःशुल्क प्रसूति सेवा, दन्त तथा आँखा उपचार, लैङ्गिक हिंसा सम्बन्धी परामर्श तथा उपचार, सुरक्षित गर्भपतन, हाडजोर्नी र फिजियोथेरापी, जनरल फिजिसियन, सिकलसेल एनेमिया परीक्षण र उपचार, रेडियोलोजी सेवा, क्षयरोग स्क्रिनिङ्ग, जेष्ठ नागरिक ओपीडी, स्वास्थ्य बीमा कार्यक्रम, पेन ओपीडी तथा मेडिकोलिगल र पोष्टमार्टम सेवाहरू सञ्चालनमा छन् । केही दिनअघि पहिलोपटक पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो भने मृगौलाको डायलासिस सेवा शुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
अस्पताल उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा स्वास्थ्य सेवासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।