एमाले अध्यक्ष ओलीको कर्णाली प्रतिनिधिहरूलाई निर्देशन : “हावाको झोक्कामा नअल्झी एकताबद्ध भएर पार्टी निर्माणमा लाग्नुस्”

  • नमस्ते कर्णाली

  • ११, साउन २०८२

    काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट पार्टी केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूसँग विशेष छलफल गर्दै हाल पार्टीमा देखिएको अस्थिरताको हावाको झोक्कामा नअल्झिन र एकताबद्ध भएर संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको छ।

    शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा लामो छलफलका क्रममा अध्यक्ष ओलीले कर्णालीका केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै, “सिंगो एमाले पार्टी संघर्षको बलमा बनेको हो, अहिले देखिएको समस्या सानो हावाको झोक्का मात्र हो,” भन्दै गम्भीर सन्देश दिनुभयो।

    भर्खरै सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकमा कर्णाली प्रदेश एकताबद्ध भएको सन्देश दिन सफल भएको भन्दै उहाँले त्यसप्रति आभार पनि व्यक्त गर्नुभयो। उहाँले देशको राजनीतिक अवस्थालाई असर पार्ने गरी चलाइएको अस्थिरताको हावामा पार्टीका सम्मानित नेताहरू अल्मलिनु दुःखद भएको टिप्पणी गर्नुभयो।

    बैठकमा सहभागी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीका अनुसार, अध्यक्ष ओलीले पूर्वराष्ट्रपति तथा पार्टीकी वरिष्ठ नेतृद्वारा पछिल्लो समयमा लिइएको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै यस्तो निर्णयले उहाँकै कदमा प्रश्न उठाएको बताए।

    अध्यक्ष ओलीले अबको ध्यान सन् २०८४ को निर्वाचनलाई लक्ष्यित गर्दै एमालेलाई जनताको पहिलो रोजाइमा परिणत गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “पार्टीको नेतृत्व सम्हालेको पहिलो सेकेन्डदेखि नै म एमालेलाई राष्ट्रिय शक्ति बनाउने दृढताका साथ अघि बढेको हुँ, त्यसैले आज हामी घेराबन्दीमा पर्छौं।”

    बैठकमा सहभागी कर्णालीका नेताहरूले क्षेत्रीय संगठन सुदृढीकरणदेखि समृद्ध कर्णाली निर्माणका लागि आवश्यक सरकारका प्राथमिकतासम्बन्धी सुझावहरू समेत अध्यक्ष ओली समक्ष प्रस्तुत गरेका थिए।

    बैठकको संयोजन प्रदेश इन्चार्ज बोगटीले गर्नुभएको थियो भने कर्णालीका अधिकांश केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। नवौं केन्द्रीय कमिटी बैठकपछिको यस्तो बैठक प्रदेशस्तरमा पहिलो भएको बताइएको छ, जसले मिसन ८४ मा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने संकेत दिएको छ।

  • १२ श्रावण २०८२, आईतवार ०८:०८ प्रकाशित

  • Nabintech