११, साउन २०८२
सल्यान ।सल्यान र जाजरकोट जिल्लालाई जोड्ने झोलुङ्गे पुल भासिएको चार वर्ष बितिसक्दा समेत मर्मत तथा पुनर्निर्माणको काम नहुँदा स्थानीयवासीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भेरी नदीमाथि रहेको उक्त पुल २०७२ सालमा बीबीएलएल नामक संस्थाको सहयोगमा निर्माण गरिएको थियो। करीब १५७ मिटर लामो पुलले बाउनडाँडा, बाँमे, पारिल्ला, चैते, कुरिल्लेलगायत गाउँका तीन सयभन्दा बढी परिवारको आवागमन सहज बनाएको थियो।
तर, तीन वर्षअघि आएको बाढीले पुलको पिलरसहितको भाग भासिँदा पुल नदी सतहमै झुन्डिएको अवस्थामा पुगेको छ। स्थानीयहरूले दिनहुँ खतरा मोल्दै सोही जीर्ण पुल प्रयोग गर्दै आएका छन्। वैकल्पिक साधनको अभावमा सल्लीबजार र छेडाबजारसम्म जानुपर्ने बाध्यताले उनीहरूलाई यस्तो जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थिति आएको हो।
स्थानीय गोपिलाल शर्माका अनुसार भासिएको पुलबाट दैनिक उपभोग्य सामग्रीको ढुवानी, कृषि उत्पादनको बजारसम्म पुर्याउने काम समेत अत्यन्तै कठिन भएको छ। “पुल झनै जीर्ण हुँदै गएको छ, थोरै भेल बढ्दा नदी पार गर्नै सकिँदैन,” उनले भने, “तर चार वर्षसम्म कसैले चासो दिएको छैन।”
पुल मर्मतका लागि सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि कुनै पहल नदेखिएको वडा नम्बर २ का वडाध्यक्ष मानबहादुर खत्रीको गुनासो छ। उहाँले भन्नुभयो, “पुलको अवस्था देख्दा कहिले ठूलो दुर्घटना होला भन्ने चिन्ता छ। मैले बारम्बार प्रदेशका माननीयहरूसमक्ष कुरा राखेँ, तर कसैले वास्ता गरेन।”
वडाको सीमित बजेटले मर्मत सम्भव नभएको र संघ तथा प्रदेश सरकारको सहयोगबिना समस्या समाधान नहुने वडाध्यक्षको भनाइ छ। उहाँले चार वर्षसम्म कुनै पहल नहुनु सरकारको उदासीनता र राज्यको कमजोर उपस्थिति भएको स्पष्ट संकेत भएको टिप्पणी गर्नुभयो।
स्थानीयवासीले पुल मर्मतमा चासो दिन सरकारसँग माग गरेका छन्। उनीहरूको आवाज नसुनेर लामो समयसम्म जर्जर पुल प्रयोग गर्न बाध्य हुनु न राज्यको गरिमा सुहाउँछ, न नागरिकको सुरक्षाका दृष्टिले उचित ठहरिन्छ। सरकारले तत्काल पहल नगरे ठूलो दुर्घटना हुने खतरा स्थानीयले औँल्याएका छन्।