बजेट कटौतीले रोकिए बाँकेका ३८ खानेपानी आयोजना, अधुरै रहने सम्भावना

  • नमस्ते कर्णाली

  • १७, साउन २०८२

    बाँके ।बाँके जिल्लामा निर्माणाधीन ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि अधुरो अवस्थामा रहने देखिएको छ। खानेपानी तथा सरसफाई कार्यालय बाँकेका अनुसार यी आयोजनाहरू सङ्घीय सशर्त अनुदानमार्फत निर्माण हुँदै आएका थिए तर चालु आर्थिक वर्ष २०८१/८२ मा ती सबैका लागि बजेट नै कटौती गरिएको छ।

    कार्यालयका वरिष्ठ अधिकृत प्रकाशजङ्ग शाहका अनुसार विगतका वर्षहरूमा नियमित रुपमा बजेट विनियोजन हुँदै आएका योजनामा यो वर्ष एकैपटक बजेट कटौती हुँदा आयोजनाको भविष्य अन्योलमा परेको छ। उहाँले भन्नुभयो, “बजेट कटौतीपछि कसरी अगाडि बढ्ने भन्ने चिन्ता थपिएको छ। सशर्त अनुदानका योजनाहरूमा बजेट नै विनियोजन गरिएको छैन।”

    कतिपय आयोजनाहरू अन्तिम चरणमा पुगिसकेका भए पनि बजेट नहुँदा ती योजना अलपत्र पर्ने देखिएको छ। सीतापुर, उढरापुर, सोनपुर र रनियापुर खानेपानी आयोजनाहरू पूरा हुने नजिक पुगिसकेका थिए भने थोरै लगानीमा सम्पन्न हुने टिटिहिरिया र बनकटुवा सुधार बिस्तार आयोजनाहरू पनि प्रभावित भएका छन्।

    बाँकेमा प्रदेश सरकारको लगानीमा समेत ४४ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन्, जसमा केही कार्य सम्पन्न भइसकेका छन्। कार्यालयका अनुसार गत आवसम्म करिब २० हजार घरधुरीमा खानेपानीको धारा वितरण गरिएको थियो।

    आव २०७५/७६ देखि प्रदेश सरकारको सहभागितामा खानेपानी आयोजना निर्माणमा गति आएको थियो। तर चालु आवमा आएको बजेट संकटका कारण धेरै आयोजना अधुरो रहने निश्चितप्रायः देखिएको छ, जसको प्रत्यक्ष असर स्थानीयवासीको दैनिक जीवनमा पर्ने देखिन्छ।

     

  • १८ श्रावण २०८२, शनिबार ११:०३ प्रकाशित

  • Nabintech