“मिडियामैत्री कानुनबिना विधेयक स्वीकार्य छैनः महासंघ कार्यबहाक अध्यक्ष आचार्य”

  • नमस्ते कर्णाली

  • १७, साउन २०८२
    बाँके ।नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया काउन्सिल विधेयक स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। नेपालगञ्जमा नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले विधेयकका धेरै बुँदामा महासंघको असहमति रहेको उल्लेख गर्दै, “सच्चिएर नआएसम्म विधेयक स्वीकार हुँदैन,” भन्ने धारणा व्यक्त गर्नुभयो।

    उहाँले आमसञ्चार विधेयकसमेत नियमनका नाममा नियन्त्रणमुखी भएको आरोप लगाउँदै महासंघले त्यसको निरन्तर विरोध गरिरहेको जानकारी दिनुभयो। पत्रकार महासंघको शुद्धिकरण अभियान अन्तर्गत यस वर्ष नवीकरणका क्रममा आवश्यक सम्पूर्ण कागजात माग गरिएको जानकारी समेत उहाँले दिनुभयो।

     

    कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले मिडियामाथि नियन्त्रण गर्ने नियत देखिएको आरोप लगाउँदै मिडियामैत्री कानुन बन्नु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले संघीयताले मिडियालाई अपेक्षित लाभ नदिएको उल्लेख गर्दै नवलोकप्रियतावादी प्रवृत्ति मौलाए त्यसको प्रत्यक्ष असर मिडियामाथि पर्ने चेतावनी दिनुभयो।

    त्यसैगरी, प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले पारदर्शी र मिडियामैत्री भूमिकामा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। काउन्सिलले प्रदान गर्ने पुरस्कारहरूका विषयमा उठेका प्रश्नको सन्दर्भमा यसपटक कार्यविधि बनाएर निष्पक्ष रूपमा अघि बढ्ने प्रयास भइरहेको जानकारी दिनुभयो।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्ष प्रेम केसी, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, कमल खत्री, सावित्री गिरी, विजय मल्ल लगायतले महासंघ र काउन्सिल सम्बन्धी सुझाव तथा जिज्ञासा राखेका थिए।

    कार्यक्रम सञ्चालक महासंघ बाँकेका सचिव कृष्ण ओली थिए। सो अवसरमा कार्यबहाक अध्यक्ष आचार्य, निवर्तमान अध्यक्ष पोख्रेल र काउन्सिल सदस्य अर्याललाई खादा ओढाएर सम्मान गरिएको थियो भने महासंघ बाँके शाखाले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि प्रदान गरिएको थियो।

  • १८ श्रावण २०८२, शनिबार ११:१५ प्रकाशित

  • Nabintech