१८ साउन २०८२
बाँके ।बाँके जिल्लामा यस वर्ष करिब १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा पर्ने पूर्वानुमान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीका अनुसार जिल्लामा बाढी र डुबानको सम्भावित क्षति न्यूनीकरण गर्न सबै स्थानीय तहहरूसँग समन्वय गरी पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयनमा लैजाने काम भइरहेको छ।
जिल्लाका सबै आठ वटै स्थानीय तहहरूले आफ्नो-आफ्नो योजना तयार गरी सचेतना अभिवृद्धि, सुरक्षित स्थानहरूको पहिचान, राहत सामग्री तयारीजस्ता कार्य तीव्र रूपमा अघि बढाएका छन्। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष धर्मराज जोशीले मनसुन सुरु भइसकेको अवस्थालाई ध्यानमा राख्दै आवश्यक सबै तयारीहरू सम्पन्न भइसकेको र अहिले ती योजनाहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो।
विशेष गरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकालाई अति जोखिमयुक्त क्षेत्रको रूपमा चिनिएको छ। ती पालिकाहरूमा स्थानीय सरकारहरूले सुरक्षित सेल्टर स्थल निर्माणदेखि चेतनामूलक कार्यक्रमसम्म सञ्चालन गरिरहेका छन्।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वर्षौँदेखि डुबान, बाढी र कटानबाट प्रभावित हुँदै आएको क्षेत्रलाई लक्ष्य गरी राहत, उद्धार र सुरक्षित स्थान स्थानान्तरणका कार्यक्रमहरू तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल र नरैनापुरका अध्यक्ष ईश्तियाक अहमद शाहले पनि राप्ती नदी आसपासका जोखिमयुक्त बस्तीहरूमा विशेष ध्यान दिइएको र आवश्यक तयारीहरू भइरहेका बताएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढी, डुबान, शीतलहर, लुजस्ता विपद्बाट यस वर्ष बाँकेका करिब २५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ। समितिले हरेक वर्ष जस्तै यस वर्ष पनि जोखिम मूल्यांकनसहितको वार्षिक पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर कार्यान्वयन गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले सर्वसाधारणलाई सचेत रहन, नदी र खोला किनार छेउ नजान, पहिल्यै डुबानमा परेका क्षेत्रबाट सुरक्षित स्थानमा जान र पालिकाले तयार पारेका अग्ला सेल्टरमा बस्न आग्रह गरेका छन्।