२३, साउन २०८२
बाँके ।मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरका प्राध्यापक तथा कर्मचारीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। शुक्रबार उनीहरूले संयुक्त रूपमा हातमा कालोपट्टी बाँधेर नियमित कामकाज अघि बढाए।
कालोपट्टी बाँध्ने कार्यक्रमअघि एक औपचारिक सभा आयोजना गरिएको थियो। कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष राजकुमार चन्दले श्रावण १४ गते नै क्याम्पस प्रमुखमार्फत विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम र रजिस्ट्रार प्रा.डा. शोभाखर कडेललाई ध्यानाकर्षण पत्र बुझाइसकिएको जानकारी दिनुभयो।
उहाँका अनुसार श्रावण १६ गते १० वटै आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले केन्द्रीय कार्यालयमै पुगी पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको र सोही दिन डेढ घण्टा मूल गेटमा धर्ना कार्यक्रमसमेत गरेका थिए। तर, मागबारे अहिलेसम्म कुनै सुनुवाइ नभएकाले पूर्व निर्धारित कार्यक्रमअनुसार कालोपट्टी बाँधेर काम गर्न बाध्य भएको बताउनुभयो।
कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मीले समायोजनका मुद्दा यथास्थितिमा रहनु, करार प्राध्यापकको स्थायी पदपूर्ति नहुनु, आंशिक प्राध्यापकलाई १६–१७ वर्षसम्म पूर्णकालीनमा नबनाइनु, घटुवा र ज्यालादारी प्राध्यापक–कर्मचारीका प्रक्रिया टुंगोमा नपुग्नु, स्थायी प्राध्यापकको बढुवा प्रक्रिया नहुनु जस्ता समस्याले आन्दोलनको विकल्प नरहेको बताउनुभयो।
साविकको मध्यपश्चिम विकास क्षेत्रमा रहेका पब्लिक क्याम्पसहरूलाई २०७५ सालमा विश्वविद्यालयले समायोजन गरेको थियो। सो क्रममा विभिन्न तहका प्राध्यापक र कर्मचारीलाई अस्थायी वा घटुवा पदमा नियुक्ति दिइएको थियो। विश्वविद्यालयको ८औं सभाले विशेष आन्तरिक परीक्षा मार्फत ६ महिनाभित्र स्थायी गर्ने नीति पारित गरे पनि हालसम्म कार्यान्वयन भएको छैन।
प्राध्यापक संघका सचिव डा. खोपिराम वलि क्षेत्रीको सहजीकरणमा भएको कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष राजकुमार चन्द र कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मीले संयुक्त अध्यक्षता गरेका थिए। कार्यक्रममा सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको उपस्थिति थियो भने प्राध्यापक संघका कोषाध्यक्ष जयकृष्ण न्यौपानेले कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए।