२५, साउन २०८२
बर्दिया ।बर्दियाको मधुवन नगरपालिका–१ सूर्यपटुवा निवासी १९ वर्षीय रुप मिलन थारुको शव गोहीको आक्रमणमा परी वेपत्ता भएको पाँच दिनपछि फेला परेको छ।
साउन २० गते ठाकुरबाबा नगरपालिका–९ को मध्यवर्ती क्षेत्रमा कर्णाली नदीको भँगालोमा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका थारु घटनास्थलदेखि करिब साढे २ किलोमिटर तल, घोप्टो परेको अवस्थामा शनिबार भेटिएका हुन्।
मधुवन–१ का वडाध्यक्ष मिन बहादुर थापाका अनुसार शव क्षतविक्षत अवस्थामा रहेको छ र मृतकका बुवाले पहिचान गरेका छन्। त्रिभुवन मावि मधुवनबाट भर्खर १२ कक्षा पास गरेका थारुको शव गोठालाले देखेपछि स्थानीयमार्फत प्रहरीलाई खबर गरिएको थियो।
घटनापछि सुरक्षाकर्मी, निकुञ्जका कर्मचारी र स्थानीयले लगातार खोजतलास गर्दै आएका थिए। फेला परेको शवलाई पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको प्रहरीले जनाएको छ।