जुम्ली एकता सेवा समाजको आयोजनामा साउन पुनीको पावन अवसरमा बैजनाथको बानियाभारमा बृहत देउडा प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जुम्लाबाट निवार्चित कर्णाली प्रदेश सांसद देबेन्द्र बहादुर शाहीले गर्नु भयो । उहाँले देउडा जस्तो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने बताउँदै, सांस्कृतिक जडलाई बलियो बनाउन सबै पक्ष एकजुट हुन आग्रह गर्नुभयो । साथै “देउडा हाम्रो पहिचान हो, यसलाई बचाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरू अत्यन्त जरुरी रहेको र आजको कार्यक्रममा देखिएको सहभागिता र उत्साहले सांस्कृतिक जागरणको सन्देश दिएको बताउनु भयो ।
यस्तै विशिष्ट अतिथि कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री पदम बहादुर रोकायाले “सांस्कृतिक सम्पदाको जगेर्ना केवल गीत–संगीतको मनोरञ्जन मात्र नभइ, यो हाम्रो इतिहास र पहिचानको रक्षा समेत रहेको बताउनु भयो । साथै यस्तो कार्यक्रम गरेकोमा आयोजकलाई बधाई दिदै यस्ता गतिविधि निरन्तर जारी रहनु पर्ने बताउनु भयो ।
“देउडा जस्तो मौलिक कला लोप हुने अवस्थामा पुगेको बेला, यसलाई मञ्चमा उतार्ने कार्य प्रशंसनीय छ । स्थानीयको सक्रिय सहभागिता नै यसको जीवन्तताको प्रमाण रहेको र “आज यहाँको जमघट, उत्साह र देउडाप्रति प्रेम देख्दा गर्व लागेको कार्यक्रमा बोल्ने अतिथिहरुले बताउनु भयो ।
प्रतियोगितामा बाँके जिल्लाका विभिन्न गाउँ–सहरबाट आएका चार टोलीहरूले सहभागिता जनाएका थिए। सहभागी टोलीहरूले परम्परागत भेषभूषा र तालमा आफ्ना प्रस्तुति राख्दा दर्शकहरू मन्त्रमुग्ध भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तेस्रो ,र सान्तोना पाउने टोलीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको समाजका अध्यक्ष गौरीकान्त आचार्यले नमस्ते कर्णाली दैनिकलाई जानकारी दिनु भयो । विजेताहरूलाई प्रमुख अतिथि तथा आयोजक समितिका पदाधिकारीहरूले पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रममा बाँकेका सहायक प्रमुद जिल्ला अधिकारी उमाकान्त अधिकारी,कर कार्यालय बाँकेका प्रमुख पुर्ण प्रसाद न्यौपाने , शिक्षा विकास तथा समन्वय कार्यालय बाँकेका प्रमुख धनसुधन चौलागाई , समाजसेवि तथा अधिबक्ता नरेन्द्र न्यौपाने , स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा सयौं दर्शकको उत्साहजनक उपस्थिति थियो । आयोजक समितिले आगामी वर्ष पनि यो प्रतियोगितालाई अझ भव्य रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। पुरस्कार वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा जुम्ली एकता सेवा समाजका पदाधिकारीहरूको उपस्थिति थियो।
दर्शकहरूले मौलिक सांस्कृतिक कार्यक्रमलाई भव्य रूपमा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै, यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा देउडा जस्तो अमूल्य लोककला जोगाउन र विस्तार गर्न ठूलो योगदान गर्ने बताएका छन्।
आयोजक समितिले आगामी वर्षहरूमा यस प्रतियोगितालाई अझ व्यापक र अन्तरजिल्ला स्तरमा सञ्चालन गर्ने घोषणा गरेको छ ।