आपतकालीन तटबन्धले बचायो बाँकेका एक दर्जन बस्ती, राप्ती नदीको धार परिवर्तनपछि तत्कालको खतरा टर्यो

  • नमस्ते कर्णाली

  • २६, साउन २०८२
    बाँके ।बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका करिब एक दर्जन बस्ती आपतकालीन तटबन्ध निर्माण भएपछि तत्कालका लागि डुबानको उच्च जोखिमबाट मुक्त भएका छन्। राप्ती नदीमा बनेको ४ सय मिटर लामो तटबन्धका कारण नदीले धार परिवर्तन गरेपछि खतरामा रहेका बस्ती सुरक्षित बनेका हुन्।

    दुई वर्षअघि आएको भीषण बाढीले पक्की तटबन्ध बगाएपछि नयाँ तटबन्ध निर्माणका लागि बजेट अभाव भएको थियो। यसबीच, जनताको तटबन्ध कार्यक्रम लमही, दाङले सिमेन्टका पोल, बाँस, बालुवा भरिएका बोरा र जालीको प्रयोग गर्दै छोटो समयमा आपतकालीन तटबन्ध निर्माण गरेको हो। आयोजना प्रमुख डा. नारायण सुवेदीका अनुसार दिनरात खटेर काम सम्पन्न गरिएकाले नदीको कटान रोक्न सफल भएको हो।

    स्थानीय बासिन्दाहरूले लामो समयको माग दुई महिनाभित्रै पूरा भएकाले खुशी व्यक्त गरेका छन्। राप्तीसोनारी–७ का दीपनारायण बर्माले यस वर्ष कटान नहुने विश्वास व्यक्त गरे। वडा अध्यक्ष लवराज खरेलले यो कामले स्थानीयलाई ठूलो राहत दिएको बताउँदै आगामी बर्खा लगत्तै स्थायी तटबन्ध निर्माण हुने आशा व्यक्त गरे।

    हाल खल्लाझगडियामा आपतकालीन तटबन्ध निर्माण सम्पन्न भएपछि अब फत्तेपुर जरैया क्षेत्रमा पनि यस्तै काम सुरु गर्ने जनाइएको छ। खल्लाझगडिया क्षेत्रमा पक्की तटबन्ध मङ्सिर २०८३ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ साई माँ दुर्गा भिन्सी जेभीले ६ करोड ५ लाख रुपैयाँमा ठेक्का लिएको जनाइएको छ। वर्षा सकिएलगत्तै स्थायी संरचना निर्माण कार्य सुरु गरिने जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएको छ।

     

  • २७ श्रावण २०८२, सोमबार ०८:३३ प्रकाशित

  • Nabintech