एमालेको महाधिवेशन उद्घाटनस्थलमा बिहानैदेखि चहलपहल

  • नमस्ते कर्णाली

  • नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने ठाउँ नारायणगढको नारायणी नदी किनारमा बिहानैदेखि नेता कार्यकर्ताको चहलपहल बढेको छ । चितवन र अरु ठाउँका सडकमा महाधिवेशनमा भाग लिन आउनेहरूको गाडी मात्रै देखिएको छ। आज दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

    महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएकाहरुलाई भरतपुरका सात ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको हो ।

    पश्चिम नेपालबाट आउनेहरुलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

    मुग्लिनको बाटो हुँदै आउने सहभागीहरुलाई आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस ठाउँमा रोकिएका गाडीलाई आँटपारीमा रहेको नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने भएको छ ।

    चितवनको माडी, जगतपुर, गीतानगरतर्फबाट आउनेहरुलाई हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने गाडीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरुलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।

    भरतपुर महानगरपालिका वडा नं १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने गाडीलाई त्यही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिनुभयो ।

     

  • १० मंसिर २०७८, शुक्रबार १०:५५ प्रकाशित

  • Nabintech