कालीकोटको खुलालुमा पुल सञ्चालन, यात्रुहरू बीचमै झरेर फेरि अर्को गाडी चढ्न बाध्यता हट्यो

जितेबाट भरियालाई सामान बोकाएर लैजानुपर्ने बाध्यता हट्याे


  • नमस्ते कर्णाली

  • कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने खुलालु पुल सञ्चालनमा आएको छ । कर्णाली करिडोर सुरु हुने कालीकोटको खुलालुमा कर्णाली नदीमाथि पुल भएपछि सजिलो भएको छ ।१२ वर्षअघि उपप्रधानमन्त्री रामचन्द्र पौडेल र ०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले पुलको शिलान्यास दुईपल्ट गरेका थिए । अब पुल सञ्चालनमा आएपछि सुर्खेतबाट कालीकोटको पश्चिम उत्तरी भेगसहित बाजुरा, मुगु र हुम्लाको सिमानासम्म एउटै गाडीबाट आउन सकिने भएको छ ।


    ठेकेदारको लापरवाहीले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको थियो । खुलालुस्थित कर्णाली नदीमा पक्की निर्माणको ठेक्का ०६९ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी कन्काइ जेभीले लिए पनि काम हुन सकेन । काम नभएपछि सडक डिभिजन कार्यालयले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो । सुरुमा १३ करोड लागत रहेको पुल अहिले बढेर भ्याटसहित १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो । अहिले स्टिल ट्रससहितको ७५ मिटर लम्बाइ र ९ मिटर चौडाइको पक्की पुल बनेको हो ।

    भारतको रुपैडियादेखि चीनको मानसरोवर जोड्ने कर्णाली करिडोरअन्तर्गत खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माण गरी गत असारमा सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो । तर पुल नबन्दा यात्रुहरू बीचमै झरेर फेरि अर्को गाडी चढ्न बाध्य थिए । नदीमा पुल बनेपछि ढुवानी भाडा पनि घट्ने कालीकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । अब जितेबाट भरियालाई सामान बोकाएर लैजानुपर्ने बाध्यता हटेको छ ।

  • २० मंसिर २०७८, सोमबार १३:१३ प्रकाशित

  • Nabintech