सरकारबाट रकम नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।

    नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।

    नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको सूचना अधिकारी सञ्जय कुमार पन्तले जानकारी दिए । ‘हामीसँग १८ देखि २० जनासम्म डायलाइसिस गर्नुपर्ने बिरामीहरु छन्,’ पन्तले भने, ‘स्वास्थ्य मन्त्रालयले १४ महिनादेखि रकम नपठाएपछि बिरङ्गले सेवा रोकेको छ । हामी सेवा सुरु गराउन प्रयास गरिरहेका छौं ।’

    बिरङ्ग हेल्थ केयरका म्यानेजर शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताए । ‘गत आर्थिक वर्षदेखि यो आर्थिक वर्षको भदौ महिनासम्मको गरी करिब २ करोड रुपैयाँ हामीले पाएका छैनौं,’ शाहले भने, ‘हामीले उधारो माग्ने ठाउँ पनि सकिएपछि सेवा रोकियो ।’

    उनले बिरामीहरु मर्कामा परेपछि ललितपुरस्थित बिरङ्गको हेड अफिसले एक हप्तालाई पुग्ने सामानको पैसा पठाइदिएको र त्यसैको आधारमा डायलाइसिसलाई आवश्यक पर्ने सामान मगाएको बताए । उनले भने, ‘आजै साँझबाट सेवा सुरु गर्ने प्रयासमा हामी छौं ।’

    शाहका अनुसार बिरामीहरुले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एकपटकको २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउँछन् । यो सेवा दिएबाफत् सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ । नेपालगञ्ज मेडिकल कलेजले बिरङ्ग हेल्थ केयरलाई डायलाइसिस सेवाको जिम्मा दिएको छ । सरकारबाट प्राप्त हुने रकम बिरङ्ग हेल्थ केयरले नेपालगञ्ज मेडिकल कलेजबाट पाउँछ । तर आफूहरुले १४ महिनादेखि रकम नपाएको बिरङ्ग हेल्थ केयर प्रालिका म्यानेजर शाह बताउँछन् ।

    शाहका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा सेवा रोकिएपछि बिरामीहरुलाई अरु नै अस्पतालमा पठाउनु परेको छ । डायलाइसिस सेवा भेरी अस्पतालमा भए पनि धेरै मेसिन नभएकाले बिरामीहरुले पालो नै नपाउने समस्या रहेको उनको भनाइ छ ।

    ‘कतिपय बिरामीको त डायलाइसिस रोकियो, कतिपयलाई भेरीमा र नजिकको क्लिनमा एडजष्ट गर्न कोसिस गर्यौं,’ उनले भने, ‘भेरी सरकारी अस्पताल भए पनि त्यहाँ जम्मा दुईवटा मेसिनमात्र चल्छ रे । त्यसैले धेरैजसो बिरामीहरु त सेवाबाट बन्चित नै हुनुभयो ।’

    आफूहरुसँग पाँच वटा मेसिन नेगेटिभमा र दुईवटा पोजेटिभमा रहेको उनले बताए । नेगेटिभका पाँच वटामध्ये एउटा बिग्रिएकाले चारवटा मेसिन चालु अवस्थामा रहेको उनी बताउँछन् ।

    from onlinekhabar

  • १९ भाद्र २०७९, आईतवार १३:५१ प्रकाशित

  • Nabintech