जुम्लाकाे कनकासुन्दरीमा पहिरोले, एकै परिवारका ५ जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

    बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

    प्रहरी निरीक्षक जोशीका अनुसार आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

    घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    हेलिकोप्टर झिकाएर उनीहरुलाई उपचार गर्न सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर बाटाहरु सबै बन्द भएकाले हेलिकोप्टर झिकाउनुको विकल्प छैन ।

    यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

  • २२ आश्विन २०७९, शनिबार १०:४८ प्रकाशित

  • Nabintech