१० हजार आठ सय मेगावाट क्षमताको कर्णाली–चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया शुरु

  • नमस्ते कर्णाली

  • नेपालमा अहिलेसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन आउँदो तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ ।

    ठूला आयोजनाको काम अगाडि बढाउने, ऊर्जा सुरक्षा तथा बाढी नियन्त्रण र पानीको जोहो गर्ने लक्ष्यका साथ सरकारले ‘रणनीतिक महत्व’को आयोजना अगाडि बढाउन लागेको हो ।

    कर्णाली चिसापानी जलाशयुक्त आयोजनाको विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन र विस्तृत इञ्जिनियरिङ डिजाइन गराउन स्वीकृति पाएसँगै प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ । ऊर्जा मन्त्रालयमा केही दिन पहिले भएको छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको अध्ययन गर्ने जिम्मेवारी पाउनु पनि आफूहरुका लागि महत्वपूर्ण विषय भएको बताउनुभएको थियो । उहाँले  आयोजनाको समग्र पक्षको अध्ययन समयमै सम्पन्न गर्ने र त्यसका लागि आवश्यक जनशक्ति परिचालन गर्ने उल्लेख गर्नुभएको थियो ।

    १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन ६ दशक अघि भएको हो । प्राधिकरणले तीन वर्षभित्र विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउने छ । प्रतिवेदनमा निर्माणको ढाँचा, माथिल्लो तटीय भागमा रेहका आयोजनामा पर्ने असर र व्यवस्थापन सम्बन्धी सिफारिस समेत समावेश हुने छ ।

    ujyaaloonline.com

  • १ पुष २०८०, आईतवार १३:०२ प्रकाशित

  • Nabintech