बाजुराको खाद्य संस्थानमा नँया हाकिम पुगे, चामल पुगेन

  • उमेश रोकाया

  • बाजुरा- बाजुराको सदरमुकाम मार्तडीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सस्तो मूल्य पर्ने मोटा चामल सकिएको चार महिना बितेको छ । गत भदौ २४ गते सकिएको मोटा चामल नआउँदा याँहाका नागरिकहरु महंगीको मारमा परेका छन ।

    सस्तो मुल्य पर्ने मोटा चामल सकिएको चार महिना भन्दा बढि बितिसक्दा समेत चामल ल्याउन नसकेको भन्दै सर्वसाधारणले सरोकारवाला तथा सम्बन्धित निकायको चर्को आलोचना गरिरहेका छन । सर्वसाधारण नागरिकले खाने माेटा चामल सकिएपछि असोज ६ गते पहिलो चरणमा र त्यसपछि पटक पटक मार्तडीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ५ सय कुईन्टल चामल पुगेको थियो ।

    तर उक्त चामल बजारको भन्दा निकै महंगो जिरा मसिनो चामल आएपछि याँहाका धेरैजसो नागरिकले सो जिरा चामल किन्नै छाडेको बताएका छन । उक्त जिरा चामल हालसम्म प्रति किलो ९२ रुपैयाँमा बिक्री भइरहेको छ भने सोहि चामल बजारमा ९५ रुपैयाँमा पाइने गरेको छ ।

    याँहाका नागरिकका लागि माेटा चामल भए सस्तो पर्ने थियो तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालयमै मोटा चामल नभएपछि जिरा चामल पठाएको कार्यालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका तत्कालीन प्रमुख मेखराज ओझाको सरुवा पछि हाल कार्यालय प्रमुखको रुपमा उमेश भण्डारी आएका छन । कार्यालयमा नयाँ हाकिम पुगे पनि सर्वसाधारण नागरिकले किन्न सक्ने चामल नपुगेको भन्दै जनप्रतिनिधिदेखि सांसदहरुको चर्को आलोचना गरिरहेका छन ।

    यस बिषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख भण्डारीले भने मोटा चामल खरिद प्रक्रियामै रहेकाले फागुन महिनासम्म आइपुग्ने बताएका छन ।

    मार्तडीमा अहिले २ सय ९६ क्विन्टल जिरा मसिनो चामल रहेको छ भने कोल्टीमा १ सय ८० क्विन्टल जिरा चामल नै रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ । मार्तडी र कोल्टीमा सर्वसाधारणले सहजै किनेर खान नसक्ने जिरा मसिनो चामल प्रशस्त भएपनि अन्य बिक्री केन्द्र तथा डिपोका गोदाम भने रित्तै रहेका स्थानियहरुले बताएका छन ।

    हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएको थियाे भने स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा  गत आर्थिक बर्षको ५ सय कुन्टल चामल गत जेठ महिनामै सकिएको थियो ।

  • ४ पुष २०८०, बुधबार ०४:३८ प्रकाशित

  • Nabintech