भोलीदेखि कोहलपुरमा सातौं मेयर कप र राष्ट्रपति रनिङ शिल्ड सुरु हुँदै(फोटोफिचर)

  • नमस्ते कर्णाली

  • कोहलपुर : भोलीदेखि कोहलपुरमा सातौं अन्तर मावि मेयर कप तथा १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र खेलकुद विकास समितिको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता भोलीदेखि सुरु हुन लागेको हो ।

    कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित १३ विगाहको खेल मैदानमा दिउँसो १ बजे प्रतियोगिताको नगरप्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोमबार आयोाजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

    प्रतियोगिता तीनदिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष बुद्धि थापामगरले बताए । उक्त प्रतियोगितामा कोहलपुर नगरक्षेत्रका सामुदायिक र निजी गरेर कुल ३६ माध्यमिक विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा कुल १ हजार ३ सय ६७ जना खेलाडी सहभागी हुने अध्यक्ष थापाले बताए । उनका अनुसार ती मध्ये ७ सय ९६ जना छात्र र ५ सय ७१ जना छात्राले भाग लिनेछन् ।

    प्रतियोगितामा एथ्लेटिक्स,भलिबल,कबड्डी र मार्सलआर्ट गरी चार वटा विधा समेटिएको छ । मार्सलआर्टतर्फ तेक्वान्दो,उस्सु र करातेँ रहेका छन् । मेयर कपमा मार्सलआर्ट विधा पहिलोपटक समेटिएको अध्यक्ष थापाको भनाइ छ ।

    प्रतियोगितामा कुल ५० गोल्ड मेडलका लागि स्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई खेलकुदको हब बनाउने बताएका छन् । कोहलपुरमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको भन्दै नगरपालिकालाई आगामी दिनमा खेलकुदको हबको रुपमा विकास गर्दै लैजाने उनले बताए । प्रतियोगिता पुष १३ गतेसम्म सञ्चालन हुनेछ ।

     

  • ९ पुष २०८०, सोमबार १६:२२ प्रकाशित

  • Nabintech