कोहलपुरमा अन्तर मावि मेयर कप प्रतियोगिता सुरु

व्यवसायिक खेलाडी उत्पादनमा सहयोगी बन्न चाहेका छौं : आचार्य


  • नमस्ते कर्णाली

  • कोहलपुर–पुस १० । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिका व्यवसायिक खेलाडी उत्पादनमा सहयोगी बन्न चाहेको बताएका छन् । मंगलवारदेखि कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा सुरु भएको सातौं अन्तर मा.वि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले खेलका माध्यमबाट चौतर्फी विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई पालिकाले प्राथमिकता दिएको बताए । ‘अन्तर मा.वि मेयर कप तथा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताले विद्यार्थीको अतिरिक्त क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्छ उनले भने–‘यसले विद्यार्थीको शारिरीक, मानसिक र संवेगात्मक विकासमा पनि सकारात्मक प्रभाव पार्छ ।’ उनले बालबालिकाहरुको चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको समेत बताए । पालिकाले आयोजना गर्ने यस्ता प्रतियोगिताहरुले व्यवसायीक खेलाडी उत्पादनमा ठूलो प्रभाव पार्ने पनि उल्लेख गरे । उनले खेलकुद प्रतियोगितालाई निष्पक्ष बनाउन प्रशिक्षकहरुलाई निर्देशन पनि दिएका छन् । उनले भने–‘कोहलपुर नगरपालिका पालिका स्तरीय छनौट प्रतियोगितामा जिल्लामा दुई वर्षदेखि लगाताररुपमा प्रथम भएकाले यो पटक पनि प्रथम हुनेगरी निश्पक्ष र आग्रह पूर्वाग्रह बिना खेलाडीहरु छनौट गर्नुहोला ।’ यो प्रतियोगितामा पनि कोहलपुर नगरपालिका जिल्लामा प्रथम भए शिल्ड कब्जा गर्नेछ । यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले गुणस्तरीय शिक्षासँगै खेलकुदको विकासका लागि पनि पालिकाले जोड दिइरहेको बताइन् । उनले खेलकुदका माध्यमबाट सामुहिक भावनाको विकास हुने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले खेलकुदप्रति बालबालिकाहरुलाई प्रेरित गर्न जरुरी रहेको बताइन् । उनले खेलकदका माध्यमबाट बालबालिकाहरुको शारिरीकरुपमा मात्रै नभएर मानसिक र संवेगात्मक विकास समेत हुने भएकाले कोहलपुर अन्तर मा.वि मेयर कप एउटा उपयोगी माध्यम भएको बताइन् । उनले यस्ता प्रतियोगिताले सक्षम खेलाडी उत्पादनमा टेवा पुर्याउने धारणा समेत व्यक्त गरिन् । प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा ५० मेडलका लागि १ हजार ३ सय ६७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको संचालन र व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम समितिका अध्यक्ष बुद्धिबहादुर थापाको सभापतित्वमा भएको हो । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले स्वागत गरेको कार्यक्रमको संचालन आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले गरेका थिए । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गृहप्रशासनका अधिकृत, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म चल्ने छ । मार्चपासमा वेस्र्टन ईमि स्कुल प्रथम कोहलपुरमा आजदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिताको मार्च पासमा वेष्र्टन ईमि स्कुल प्रथम भएको छ । ३२ विद्यालयले मार्चपासमा प्रतिस्पर्धा गरेकोमा सबैलाई उछिन्दै वेष्टर्न ईमि स्कुल प्रथम भएको हो । यस्तै कोहलपुर ५ मा रहेको पञ्चमुखी ईमि स्कुल र कोहलपुर १ मा रहेको जन ज्ञानज्योति मावि द्धितीय भएका छन् । यस्तै कोहलपुर १२ मा रहेको ग्रिन पिस मावि तृतीय भएको आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।

  • १० पुष २०८०, मंगलवार १९:३९ प्रकाशित

  • Nabintech