मेयर कपलाई थप व्यस्थित र परिस्कृत गर्दै लैजाने नगर प्रमुख आचार्यको प्रतिबद्धता

  • नमस्ते कर्णाली

  • कोहलपुर :कोहलपुर नगरपालिकाको आयोजनामा आयोजित चार दिने सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिकास्तरीय राष्ट्रपति रनिङ्खशिल्ड छनौट प्रतियोगिता शुक्रबार समापन भएको छ । कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र संचालनमा भएको उक्त प्रतियोगिताको नगर प्रमुख प्रमुख पूर्ण प्रसाद आचार्यले समापन गरेका हुन् । उनले समापन समारोहलाई सम्वोधन गर्दै अन्तर मावि मेयर कपलाई थप व्यस्थित र परिस्कृत गर्दै लैजाने प्रतिबद्धता जनाए ।

    कोहलपुर नगरपालिकाको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले यसलाई व्यस्थिति र भव्य बनाउँदै लगिने उनको भनाइ छ । पाठ्यक्रमको ज्ञानले मात्र विद्यार्थी पूर्ण हुन नसक्ने भन्दै उनले अतिरिक्त ज्ञानको आवश्यक जरुरी रहेको बताए । ‘खेलकुद पनि अतिरिक्त क्रियाकलाप हो उनले भने–‘विद्यालयले पनि यसतर्फ ध्यान दिन आवश्यक छ ।’ उनले आगामी संस्करणमा खेल विधालाई थप गरिने पनि प्रतिबद्धता जनाए । गत वर्ष तीन वटा विधामा मात्रै प्रतियोगिता हुँदै आएकोमा यो पटक मार्सलआर्ट विधा थप गरिएको थियो ।

    ‘भलिबल, दौड र कपडी हुँदै आएकोमा यो पटक देखि मार्सलआर्ट विधा पनि थपियो उनले भने–‘आगामी संस्करणमा अरु विधा पनि थपिनेछ । उनले प्रतियोगितामा कक्षा ६, ७ र ८ विद्यार्थीहरुलाई पनि समाहित गर्ने योजनाबारे परामर्श गरिने बताए । उनले समग्रमा प्रतियोगिता सव्य र भव्य भएपनि केही विद्यालयले फर्जि खेलाडी प्रतिस्पर्धीकारुपमा खेलाएको प्रति असन्तुष्टि जनाए । उनले त्यस्ता विद्यालयमाथि कारवाही गरिने उल्लेख गरे । ‘६ वटा विद्यालयले फर्जि खेलाडी खेलाएको भनिएको छ । उनीहरुमाथि छानविन भइरहेको छ । दोषी प्रमाणित भए उनीहरुलाई अर्को पटकको संस्करणमा भाग लिन नपाउने गरी कारवाही गरिन्छ’ उनले भने ।

    पुरस्कार जित्नका लागि फर्जि खेलाडी खेलाउने विद्यालय, शिक्षक, प्रशिक्षक समेतलाई छानविन गरेर कारवाही गरिने बताए । ‘खेलक्षेत्रमा सम्भावना बोकेका र प्रतिस्पर्धामा विजयी हुने सपना बोकेका खेलाडी विद्यार्थीमाथि तेजोवध गर्ने कार्य सह्य छैन उनले भने–‘खेलाडी विद्यार्थीलाई अझैपनि कसैमाथि शंका लाग्छ भने आइतवारसम्म शिक्षा शाखामा निवेदन दिनुहोस्, फर्जि भेटिए पदक खोसिन्छ । संलग्नलाई कारवाही हुन्छ ।’ उनले मेडलधारी खेलाडीहरुलाई जिल्लामा हुने पालिकास्तरीय प्रतियोगिताको तयारीमा जुट्न आग्रह समेत गरेका छन् । ‘मेयर कपसम्म ल्याउन विद्यालयको भूमिका भयो । मेयर कपमा छनौट भएका खेलाडीहरुको व्यवस्थापन गर्ने जिम्मा पालिकाका हो । खेलाडीहरुको व्यवस्थापनतर्फ ध्यान दिन नगर खेलकुद विकास समितिलाई निर्देशन दिन्छु’ उनले भने ।

    समापन समारोहलाई सम्वोधन गर्दै नगर उपप्रमुख संगिता सुवेदीले खेलकुदप्रति विद्यार्थीको उत्साहको प्रशंसा गरिन् । उनले खेल क्षेत्रको विकासका लागि कोहलपुर नगरपालिकाले संस्थागतरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले शिक्षासँगै खेलकुदका कार्यक्रमलाई पनि पालिकाले सँगसँगै अगाडि बढाएको उल्लेख गरिन् । कोहलपुर नगर खेलकुद समितिका अध्यक्ष बुद्धिबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन प्रतियोगिता संचालन समितिका सदस्य सचिव वीरेन्द्र मल्लले गरेका थिए । विजयी खेलाडीहरुलाई नगर प्रमुख, नगर उपप्रमुख, वडाअध्यक्ष, खेल प्रशिक्षक लगायतले मेडल तथा प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । कोहलपुर नगरपालिका २ तेह्र विघा खेलमैदानमा भएको प्रतियोगितामा जनप्रतिनिधि, खेलकुदकर्मी, प्रहरी प्रशासन, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।

  • १४ पुष २०८०, शनिबार ११:०१ प्रकाशित

  • Nabintech