कोहलपुर नगरपालिकाको चौधौँ नगर सभा:अर्धवार्षिक समीक्षादेखि ऐन संशोधनसम्म

  • शुभाकर विश्वकर्मा

  • कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न भएको छ । बुधबार नगर सभामा आयोजित चौधौं नगर अधिवेशनमार्फत चालु आ.व.को अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर सभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षासहितको प्रतिवेदन पेश गरेकी थिइन् । नगरपालिका अन्तर्गत रहेका विभिन्न शाखागत प्रगतिहरु समेत प्रस्तुत गरेकी थिइन् । विभिन्न विषयगत शाखा अन्तर्गत नगरपालिकाले अपेक्षित उपलब्धी हासिल गरेको उनको भनाइ थियो । नगर सभाले संशोधित बजेट योजना तथा कार्यक्रम बहुमतले पारित गरेको छ । विधायन समितिले कोहलपुर नगरपालिकाको बाङमय प्रतिष्ठान ऐनमा संशोधन गर्ने, शिक्षा ऐन संशोधन गर्ने प्रस्ताव पेश गरेकी थिइन् । उपप्रमुखले प्रस्तुत गरेका कार्यक्रम र विधायन समितिले प्रस्तुत गरेका दुई वटा ऐन संशोधन प्रस्तावमा विभिन्न राय सुझावसहित नगर सभाले बहुमतले पारित गरेको हो । यसैगरी नगर सभामा सभाध्यक्ष तथा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले विभिन्न विषयमाथि प्रस्ताव गरेका थिए । उनले अखिल नेपाल फुटबल संघको जग्गा भोगाधिकार माग सम्बन्धी सिफारिसमा सम्बन्धमा र सिटिइभिटीका
    लागि जग्गा सिफारिस गर्ने सम्बन्धमा नगर सभामा प्रस्ताव पेश गरे । सिटिइभिटीका लागि जग्गा सिफारिस गर्ने सम्बन्धमा उनले बैजनाथपुर सामुदायिक वनले नगरपालिकालाई दिएको निवेदन सुनाए । उक्त प्रस्तावमा मध्ये नगर सभा सदस्य तथा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर रानाले सिटिइभिटीलाई जग्गा दिन आफ्नो वडाको सामुदायिक वनले पनि जग्गा दिन चाहेको बताएका थिए । उक्त प्रस्तावमा नगर प्रमुखले सो सम्बन्धमा आवश्यक प्रक्रिया पु¥याएर निष्कर्षमा जाने कुरा सुनाएका थिए । नगर सभाको अवसरमा विभिन्न १४ वटा विषयसहित अन्य विविध विषयमा छलफल भएको थियो । नगर सभामा प्रस्तुत सम्पूर्ण विषय नगर सभाबाट पारित भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । उनका अनुसार तत्कालका लागि नगरपालिकामा अत्यावश्यक रहेका विषयहरुमा नगर सभामा छलफल भएको थियो । नगर सभा सदस्यहरुबीच ती विषयमा छलफल भएर अधिकांश विषय पारित गरिएको नगर प्रमुख आचार्यले बताए । नगर सभामा माल्टासँग भगिनी सम्बन्ध कायम गर्ने, अधुरा ठेक्का तथा योजनाहरुको व्यवस्थापन, सवारी साधन खरिद्, कोहलपुर भ्यु टावर तथा बसपार्कको व्यवस्थापन, नगर कोषको ऋण भुक्तानी तथा बेरुजु फछ्यौट गर्ने लगायतका विषयमा व्यापक छलफल भएको थियो । नगर सभामा प्रस्ताव गरिएका १४ वटै विषयमा बहुमतले निर्णय भएको उनले बताए ।

    योजना खोसिएकोदेखि नक्सा पासमा छुटको माग

    कोहलपुर नगरपालिकाको चौधौं नगर सभामा नगर सभाका ६ जना सदस्यले विभिन्न विषयमा संशोधन, माग प्रस्ताव तथा गुनासो राखे । नगर सभामा उपप्रमुख संगीता सुवेदीदेखि तीन जना वडा अध्यक्ष, एक जना कार्यपालिका सदस्य र एक जना वडा सदस्यले विभिन्न विषयमा आफ्ना माग,प्रस्ताव र गुनासो राखेका थिए । उक्त अवसरमा बोल्दै नगर सभामा संशोधन प्रस्ताव राखिएको शिक्षा ऐनमा नगर उपप्रमुखको अधिकार खोसिएको भन्दै उपप्रमुख संगीता सुवेदीले सहमति नै राखिन् । एजेण्डामाथिको छलफलमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडाअध्यक्ष कल्पना शर्माले नगर सभामा पारित गरिएको योजना नगरपालिबाट हटाइएको भन्दै उक्त योजनालाई समावेश गरिदिन माग गरिन् । उनका अनुसार ती योजना वडाको जानकारी विना संशोधन गरिनु दुखद् कुरा हो । गत वर्षपनि यस्तै प्रवृत्ति देखा परेको भन्दै आगामी दिनमा वडामाथि अन्याय नगर्न उनले नेतृत्वको ध्यानाकर्षण गराइन् । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष लालबहादुर रानाले नगरपालिकाका उपलब्धिहरुमा मुख्यमन्त्री गोल्डकप, नापी कार्य सम्पन्न भएको लगायतका योजना छुटेको बताए । एक विद्यालय एक भवन, विषयगत शिक्षकको नियुक्ति, सुशासनमा फड्को मार्नेसम्मका काम भएको उनको भनाइ थियो । कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले कोहलपुरमा बरघर ऐन ल्याउनुपर्ने माग गरे । हरेक तहमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने उनको माग थियो । कोहलपुर–१२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले नक्सा पास कार्यका लागि बजेट अपुग भएको बताए । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द वाग्लेले वडा नम्बर ६ लाई जग्गा विवाद भएको भन्दै नक्सापासमा छुट सुविधा नदिएको भन्दै आगामी दिनमा ४० प्रतिशत छुट दिन माग गरेका थिए । यस्तै वडा नम्बर ६ को विकासका लागि वडामा नगर विकास समिति विस्तार गर्न उनले माग गरे ।
    .

  • २६ पुष २०८०, बिहीबार ०८:१४ प्रकाशित

  • Nabintech