अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : बाँकेका तीन पालिकामा सार्वजनिक बिदा

  • नमस्ते कर्णाली

  • नेपालगन्ज : भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा बाँकेका तीन पालिकाले सार्वजनिक विदा दिएका छन् । सोमबार ‐आज) हुने राम मन्दिरको प्राण प्रतिष्ठामा जिल्लाका जानकी गाउँपालिका,नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक विदा दिएका हुन् । नरैनापुर गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकामा दुई दिन विदा दिएको जनाएको छ ।

    कार्यालयद्धारा जारी सूचनामा आइतबार र सोमबार गरी दुई दिन विदा दिने निर्णय गरिएको जनाएको छ । सूचनामा भनिएको छ,‘ मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकोले यही माघ ७ र ८ गते दिन नरैनापुर गाउँपालिका भित्र कुनैपनि पशुपंक्षी,जीवजन्तु आदीको बध,मदिरा, माछा,मासुको विक्रि वितरण लगायतका कार्य नगरिदिन अनुरोध छ ।

    श्रीराम मन्दिर प्रतिष्ठाको शुभ अवसरमा सात गतेका दिन ७ गते शोभा यात्रा हुने भएकोले अत्यावश्यक बाहेक सम्पूर्ण निकायमा सार्वजनिक विदा दिइएको छ ।’ गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवद्धारा हस्ताक्षरित सूचनामा सो दिन पालिकाभ मातहतका सम्पूर्ण शाखा र पालिकामा सार्वजनिक विदा दिइएको उल्लेख छ ।

    यस्तै नेपालगन्ज उपमहानगरपालिकाले समेत भारतको अयोध्यास्थित श्री राम मन्दिरमा भोली माघ ८ गते हुने प्राण प्रतिष्ठाको अवसरमा विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । उक्त दिन सभ्य र भब्य तरिकाले हर्षोल्लासका साथ सफल पार्न नगरभित्रका सम्पूर्ण निजी ,धार्मिक तथा सामुदायिक विद्यालयहरुमा भोली एक दिन पठनपाठन बन्द रहने जनाइएको छ ।

    नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले मित्र राष्ट्र भारतमा हुन लागेको प्राण प्रतिष्ठाको अवसरमा पालिकाका विद्यालयमा विदा दिइएको बताए । भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ । यस्तै जिल्लाको जानकी गाउँपालिकासमेत विदा दिएको छ ।

  • ८ माघ २०८०, सोमबार १६:४४ प्रकाशित

  • Nabintech