प्रथम बैजनाथ महोत्सव : दुई सय वटा स्टल रहने, स्थानीय उत्पादनलाई प्राथमिकता

  • नमस्ते कर्णाली

  • कोहलपुर : जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित कोहलपुर न्यु सिटीमा हुने प्रथम बैजनाथ महोत्सव आउन दुई दिन बाँकी छ । माघ १० गतेदेखि सुरु हुने महोत्सवको तीव्र तयारी भइरहेको छ । ‘प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सव’ नाम दिइएको महोत्सवमा कुल दुई सय वटा स्टल रहने आयोजकले जनाएको छ ।

    स्थानीय स्रोत साधनको सदुपयोग गरी उत्पादन लघु घरेलु तथा साना उद्योगहरुको उत्पादित वस्तुहरुको दीगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको जनाइएको छ । देशभित्रका सबै प्रकारका उत्पादन मुलक उद्योगका अलवा कृषि, वनपैदावर,हस्तकला,उर्जा, वायोग्यास लगायत पर्यटन,औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु रहने महोत्सव प्रचार प्रसार समितिका संयोजक सुमन विश्वकर्माले बताए ।

    उनका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापारिक प्रतिष्ठानका ३५ वटा,सूचना प्रविधिका लागि २० वटा र कृषि उपज तथा जडिबुटीका लागि ३० वटा स्टल राखिनेछ । यस्तै,पर्यटनका लागि २० वटा स्टल, लघु तथा घरेलु उद्योगका लागि ३० वटा स्टल, सेवामुलक संघसंस्थाका लागि १० वटा,बैंक वित्तीय तथा सहकारी क्षेत्रका लागि १० वटा र होटल तथा रेष्टुरेन्टका लागि २० वटा स्टल रहनेछन् ।

    यसैगरी प्रायोजकका लागि १० वटा स्टल रहेका छन् । मौलिक कला संस्कृतिका लागि ५ वटा स्टल रहनेछन् । आवश्यकता अनुसार स्टल बढ्नपनि सक्ने आयोजकले जनाएको छ । महोत्सवमा १५० देखि २ सय वटा सम्म नविनतम् प्रविधिजन्य उत्पादनहरु,महिलाद्धारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित वस्तुहरु मेलाका मुख्य आकर्षक रहनेछन् ।
    बैजनाथ गाउँपालिका थारु संस्कृतिको बाहुल्य भएको पालिका हो । त्यहाँ राष्ट्रिय रुपमै परिचित गाभर होमस्टे रहेको छ । मानसरोवर बोटानिकल पार्क र कन्वा तालसमेत रहेका छन् । महोत्सव प्रचार प्रसार समितिका संयोजक सुमन विश्वकर्माका अनुसार ११ वटा मुख्य आकर्षणहरु रहेका छन् ।
    महोत्सवमा हरेक दिन स्थानीय देखि राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहनेछन् । प्रतियोगिताको सह आयोजकका रूपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ । व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रहेको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय गरी ६० बढी कलाकारहरूको प्रस्तुति रहनेछ ।

  • ८ माघ २०८०, सोमबार १६:४९ प्रकाशित

  • Nabintech