कोहलपुरमा माघ २५ देखि फागुन ४ गतेसम्म महोत्सव हुँदै

  • नमस्ते कर्णाली

  • कोहलपुर : बाँकेको कोहलपुरमा घरेलु तथा औद्योगिक संग्राहलय र अनुसन्धान केन्द्र निर्माणका लागि महोत्सव सञ्चालन गरिने भएको छ । जिल्लाको विकासउन्मुख सहरको रुपमा रहेको कोहलपुरमा घरेलु तथा औद्योगिक संग्राहलय र अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिने भएको हो । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको आयोजनामा आगामी माघ २५ गतेदेखि फाल्गुण ४ गतेसम्म महोत्सव सञ्चालन हुने हो । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले कोहलपुरमा महोत्सव सञ्चालन हुने औपचारिक रुपमा जानकारी गराएको हो ।

    यसअघि महोत्सव सञ्चालनका लागि कोहलपुरस्थित विभिन्न सरोकारवालाहरुसँगको ब्यापक छलफलपछि औपचारिक घोषणा गरिएको महासंघका अध्यक्ष हेमविक्रम जिसीले बताए । उनका अनुसार यसपटकको महोत्सव विगतका महोत्सवहरु भन्दा भिन्न हुनेछ । मेहनत सृजना उत्पादन र वस्तु मेरै नेपालको भन्ने मूल नाराका साथ कोहलपुर ११ स्थित न्यूरोड खुल्ला मैदानमा ‘पाँचौ प्रादेशिक औद्योगिक, लघु,घरेलु तथा कृषि, प्रविधि,व्यापार एंव पर्यटन महोत्सव–२०८०’ सञ्चालन हुने जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जिसीले स्थानीय स्रोत साधनको सदुपयोग गरी उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरुको उत्पादित वस्तुहरुको दिगो बजार पहुँच स्थापीत गर्ने महोत्वसको उद्देश्य रहेको बताए ।

    यस्तै देशभित्रका सबै प्रकारका उत्पादन मुलक उद्योगका अलवा कृषि,वनपैदावार, हस्तकला,उर्जा बायोग्यास लगायत पर्यटन,औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु रहने उनले बताए । उनका अनुसार महोत्सवमा ३ सयदेखि ३५० सम्म स्टल रहनेछन् । महोत्सवको मुख्य आकर्षण नै घरेलु तथा औद्योगिक संग्राहलय र अनुसन्धान केन्द्र रहेको उनले बताए । अध्यक्ष जिसीले विभिन्न जातजातीहरुका सांस्कृतिक पहिचान झल्किने संग्राहलय निर्माण हुने उनले बताए ।

    यस्तै महोत्सवमा विभिन्न स्थानीय एंव राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सवमा दुई लाख सम्म दर्शक भित्र्याउने लक्ष्य रहेको छ । महोत्सव प्रादेशिक स्तरीय हुने भएकोले मौलिक कला परम्परा, रितिरिवाज र सांस्कृतिक एंव प्राकृतिक सम्पदाहरुको पहिचान हुनेगरी प्रचार प्रसारलाई मुख्य प्राथमिकता दिइएको हो । महोत्सव कोहलपुरको इतिहाससँग जोडिएकोले महोत्सव सफल बनाउन सबैको भूमिका प्रभावकारी रहेको बताइएको छ ।
     

  • १६ माघ २०८०, मंगलवार १८:०१ प्रकाशित

  • Nabintech