मुगुको खत्याड आगलागी : बहिनी बचाउन खोज्दा आफै जले बिशाल, सन्तानविहीन भए आमाबुबा

  • नमस्ते कर्णाली

  • मुगु : सोमबार साँझ सबेरै सुुतेकी थिइन्,सरस्वती सञ्ज्याल । उनीसँगै थिइन्,१२ वर्षीय छोरी झरना सञ्ज्याल र छोरा बिशाल सञ्ज्याल । मुगुको खत्याड–२ गाँडेखोला यी आमा कहिल्यै सोचेकी थिइनन्,आफ्ना सन्तान सधैका लागि गुमाउँछु भनेर । तर, उनले सपनामा पनि नसोचेको कुरा सत्य भइदियो । सरस्वतीले आफ्ना दुई सन्तान गुमाइन् । बहिनीलाई बचाउन खोज्दा बिशाल आफैँ जले । सञ्ज्याल परिवारको खुसी एकाएक खोसियो ।

    सोमबार राति सञ्ज्यालको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आफ्नै घरमा लागेको आगोमा जलेर १४ वर्षीय बिशाल र १२ वर्षीया झरना सदाका लागि विदा भएका छन् । बिशाल जनजागरण मावि सेरीमा कक्षा ७ र झरना कक्षा ४ मा अध्ययनरत थिए ।
    गाँडेखोलामा रहेको घरमा आमासँगै दाईबहिनीसँगै सुुतेका थिए राति घरमा आगलागी भएको थियो । २ बजेतिर घरमा आगो लागेको उनीहरुले थाहा पाएका थिए । आफू सुतिरहेको घरमा दनदनी आगो लागेको थाहा भएपछि सरस्वती र बिशाल हतारहतार बाहिर निस्किए । उनीहरुले छिमेकीलाई गुहार मागे । रातिको समय भएकोले छिमेकी सबै सुतेका थिए । छिमेकीहरु उनीहरु चिच्यावट सुनेपछि बिस्तारै बाहिर निस्किए । उनीहरु आगो निभाउनतर्फ लागे ।
    तर, बहिनी बचाउँछु भनेर आगोको रापमा छिरेका बिशाल पनि अस्ताए ।

    बिशाल बहिनी भित्रै रहेको थाहा पाएपछि भित्र गएका थिए । तर न उनी बाहिर निस्किए । न त बहिनीलाई नै बाहिर निकाल्न सके । आगोमा जलेर दाई र बहिनीको दुखद् निधन भएको खत्याड गाँउपालिका—२ का वडा अध्यक्ष हेमराज मल्ल बताउँछन् ।
    छोराछोरीको मृत्यु भएपछि यतिबेला सरस्वती अर्धमृत अवस्थामा छिन् । कहिल्यै नसोचेको विपत्तिका कारण सञ्ज्याल दम्पति सन्तानविहीन हुन पुगेका छन् ।

    चार जनाको खुसी परिवार उजाडिएको छ । सरस्वतीका श्रीमान लालु सञ्ज्याल भने रोजगारीको सिलसिलामा कालापहाड छन् । लालुका भाइ नरदिप डिल्ली सञ्ज्यालका अनुसार तीन तले काठ र ढुङ्गाबाट निर्मित घर पूर्णरुपमा जलेको छ । आगलागीबाट करोडौको क्षति पुगेको छ ।
    मृतकका आफन्त विष्णुराज दाहालले दिएको जानकारी अनुसार घरमा तीनजना मात्र थिए । एक दुई दिन अगाडी मात्रै सरस्वती बाहिर सरेर हिजो मात्रै घरमा पसेकी थिइन् । आफूले उनीले घर पसिसकेपछि घर लिपपोत गरेर बेलुकीको खाना खाई सुतेको थाहा पाएको बताएका छन् । उनीहरुको चित्कारपछि छिमेकीहरु आएर उद्धारको प्रयास गरेपनि आगो ठूलो भएकोले छिटो उद्धार गर्न नसकिएको उनी बताउँछन् ।

    उनीहरुले आफैले बालेको आगोबाटै आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक बिरेन्द्र थापाले बताएका छन् । उनका अनुसार मृतकका शव आगोले जलेर सनातखत हुन नसक्ने अवस्थामा शव भेटिएका छन् । शवको पोष्टमार्टम प्राथामिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर झिकाई घट्नास्थलमै पोष्टमार्टम गरिने प्रहरीले बताएको छ । प्रहरीका अनुसार उक्त घरको आगलागीबाट चार गाइगोरु जलेका मरेका छन् भने सँगै जोडिएका नरदिप र डिल्ली संञ्ज्यालको घर पूर्ण क्षति भएका छन् ।

  • २३ माघ २०८०, मंगलवार १०:४९ प्रकाशित

  • Nabintech