बालबालिका र अपांगता भएकालाई निःशुल्क प्रवेश

  • नमस्ते कर्णाली

  • शुक्रबारदेखि सञ्चालनमा आएको कोहलपुर भ्यु टावरमा बालबालिका, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइने भएको छ । निर्माण सम्पन्न भएको लामो समयपछि नगरपालिका आफैले भ्यु टावर सञ्चालनमा ल्याएको हो । भ्यु टावर प्रवेशको लागि प्रति व्यक्ति ७५ रुपैयाँ टिकट दर तोकिएको छ । भ्यु टावर अवलोकनका लागि बालबालिका, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइएको नगरपालिकाले जनाएको छ । टावरको सम्पूर्ण सुरक्षा जिम्मा भने कोहलपुर नगर प्रहरीको रहेको छ ।
    नगर प्रहरीका प्रमुख वीरबहादुर थापाका अनुसार पहिलोदिन ४० जनाले भ्यु टावर अवलोकन गरेका थिए । ‘लामो समयको प्रयासपछि भ्यु टावर सञ्चालनमा आएको छ । प्रति व्यक्ति ७५ रुपैयाँका दरले टिकट दर तोकिएको छ,’ उनले भने,‘बालबालिका र जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेश दिइएको छ ।’ नगरपालिकाले यस अघि भ्यु टावर सञ्चालन र व्यवस्थापनका लागि तीनपटक टेण्डर आह्वान गरेको थियो । नगरपालिकाले टेण्डर आह्वान गर्दापनि टावर सञ्चालनका लागि आवेदन नै परेन । अन्नत नगरपालिका आफैले परिक्षणका लागि सञ्चालनमा ल्याएको छ । ५ करोड ५३ लाख लागतमा निर्माण भएको भ्यु टावर शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । भ्यु टावरबाट कोहलपुरबाटछ कोहलपुरको मनोरम् दृष्य अवलोकन गर्न सर्वसाधारणका लागि खुल्ला गरिएको नगरपालिकाले जनाएको छ ।
    उनका अनुसार गोलपार्कको सुरक्षा व्यवस्था नगर प्रहरीले नै सम्हाल्नेछ । यस्तै रातीको समयमा पनि दुई जना नगर प्रहरी परिचालन गरिने उनले बताए । गोलपार्क भित्र खानेपानी र शौचालयको व्यवस्था रहेको नगर प्रमुख थापाको भनाइ छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडाअध्यक्ष कल्पना अधिकारीका अनुसार लामो समयको प्रयासपछि भ्यु टावर सञ्चालनमा आउनु खुसीको कुरा हो । उनले कोहलपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि भ्यु टावरको निर्माण गरिएको बताइन् । भ्यु टावरमार्फत कोहलपुरलाई चिनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको उनले बताइन् । भ्यु टावर कोहलपुर नगरपालिकाको गौरवको आयोजनासमेत हो ।

     

  • २ फाल्गुन २०८०, बुधबार १२:१९ प्रकाशित

  • Nabintech