तक्षशिलाको वाषिर्कोत्सवमा अन्तर संवाद

  • नमस्ते कर्णाली

  • कोहलपुर :  तक्षशिला ऐकेडेमीको ८औँ वार्षिकोत्सवमा अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको छ । सरस्वती पूजा र वार्षिकोत्सवको अवसर पारेर ‘जीवनका भोगाइ,अनुभूति र सफलता’ विषयक अन्तर संवाद कार्यक्रम आयोजना गरिएको हो । अन्तर संवादमा पाँच जना अतिथि थिए । अतिथिहरुमा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य,इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डियसपि सुन्दर तिवारी,बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरका क्याम्पस प्रमुख दानबहादुर हमाल, कोहलपुर नगरपालिका अन्तर्गत शिक्षा तथा खेलकुद शाखाका अधिकृत शिला गौतम र दन्त चिकित्सक डा.दिलबहादुर सत्याल रहेका थिए ।


    संवादको सहजीकरण खोपीराम ओलीले गरेका थिए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले आफ्नो सफलताको प्रतिक बुबाको इमान्दारिता र आमाको कर्मशीलता रहेको बताए । आफूले निकै दीनहीन समय भोगेर अहिलेसम्मको यात्रामा आएको भन्दै निरन्तरको संघर्ष, दुःख र लगनशिलताबाट सफलता प्राप्त हुने उनले बताए । पछिल्लो समय युवा पुस्तामा निकै चरम असन्तुष्टि रहेको भन्दै फस्ट बेन्चरलाई समाज सेवा र राजनीतिमा ल्याउनुपर्ने बताए ।

    उनका अनुसार ए प्लसका अंक विदेशका लागि बेचिनु चिन्ताजनक विषय भएको छ । यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डियसपि सुन्दर तिवारी सुशासन अहिलेको प्रमुख प्राथमिकता भएको बताए । शिक्षिका आमा सामाजिक भाव बाबाको इमान्दार,नैतिकवान चरित्र आफ्नो लागि प्रेरणाको स्रोत भएको बताए । उनका अनुसार आफू मध्यम वर्गीय परिवारको भन्दै क्याम्पस स्तरमा धान र घिउ बेचेको पैसाले पढेको बताए ।

    बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरका क्याम्पस प्रमुख दानबहादुर हमालका अनुसार अभिभावकले बच्चाहरुको क्षमता पहिचान गर्न सक्नुपर्ने बताए । उनका अनुसार हरेक व्यक्तिमा फरक फरक क्षमता हुन्छ । सोही अनुसारको वातावरणमा हुर्काउनुपर्छ ।
    संवादमा सहभागी वक्ता कोहलपुर नगरपालिका अन्तर्गत शिक्षा तथा खेलकुद शाखाका अधिकृत शिला गौतमले असल व्यक्ति मात्रै सफल हुने बताइन् ।

    बच्चालाई असल बनाउने शिक्षा प्रदान गर्नुपर्नमा उनको जोड रहेको छ । मेहेनत र सकारात्मक सोच नै सफलताको सुत्र भएको उनको भनाइ थियो । यसैगरी दन्त चिकित्सक डा.दिलबहादुर सत्याल हरेक अभिभावकले आफ्ना छोराछोरीहरुलाई असल नागरिक बनाउने उद्देश्य राख्नुपर्ने बताए ।
    वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै एकेडेमीका प्रिन्सिपल भिम बहादुर रोकायाले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा प्रदान गरिएको बताए । उनले कक्षाकोठालाई स्मार्ट बनाइएको पनि बताए । विद्यालयमा स्मार्ट ल्याव, सिसिटिभी क्यामरा र विज्ञान प्रयोगशालाको व्यवस्था रहेको रोकायाको भनाइ छ । स्कूलले दक्ष जनशक्ति उत्पादनमा जोड जोड दिएको उनको भनाइ थियो ।

    तक्षशिला ऐकेडेमीका अध्यक्ष विष्णु प्रसाद बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

     

  • ३ फाल्गुन २०८०, बिहीबार ११:४७ प्रकाशित

  • Nabintech