भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दै कोहलपुर

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने भएको छ । लालपूर्जा वितरणका लागि लामो समयदेखि सम्पूर्ण तयारी पूरा गरेको नगरपालिकाले अन्नत लालपूर्जा वितरण गर्ने भएको हो । बुधबार नगरपालिकामा बसेको बैठकले कोहलपुर नगरपालिका १ बाट लालपूर्जा वितरण गर्ने निर्णय गरेको हो । कोहलपुर नगरपालिकाका अनुसार भूमि आयोग बाँकेको समन्वयमा नगरपालिकाले लालपूर्जा वितरण गर्न लागेको हो । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाले वडा नम्बु १ बाट लालपूर्जा वितरण गर्ने निर्णय गरिएको बताए । उनका अनुसार कोहलपुर नगरपालिका १ मा लगत संकलन गरेर सम्पूर्ण प्रक्रिया पूरा गरेकाहरुले लालपूर्जा प्राप्त गर्नेछन् । कोहलपुरका १५ वडामध्ये वडा नम्बर १ मा ९५ प्रतिशत नागरिक ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् । कोहलपुरमा सबैभन्दा धेरै सुकुम्बासी भएको वडापनि वडा नम्बर १ नै हो । वडा नम्बर १ मा भूमिहीन दलित ७८ जना छन् । सुकुम्बासी ६७ जना र अव्यवस्थित बसोबासी १२ सय जना रहेको वडा सचिव घुमलाल थारुले बताए । वडा नम्बर १ का वडा अध्यक्ष बद्रीप्रसाद जैसी वडा नम्बर १ का नागरिकको ४५ वर्षदेखिको सपना पुरा हुन लागेको बताएका छन् । सर्वदलीय, सर्वपक्षीय बैठकले निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ का कूल १ सय ४१ जनालाई लालपूर्जा प्राप्त गर्नेछन् । ‘वडा र नगरले गर्नुपर्ने काम सबै भइसकेको छ । फिल्ड बुकपनि तयार भइसकेको छ । अब सात दिने सूचना निस्कन्छ । त्यसपछि वितरण हुन्छ ।’ वडा अध्यक्ष जैसीले भने । सात दिने सूचनापनि भूमि आयोगले नै निकाल्ने उनको भनाइ थियो । अब कुनैपनि नागरिक भूमिहीन, सुकुम्बासी नहुने उनले बताएका छन् । यता कोहलपुर नगरपालिकाका नगरप्रमुख आचार्य लालपूर्जा वितरण गर्ने कुरा कोहलपुरबासीका लागि खुसीको कुरा भएका बताएका छन् । वडा नम्बर १ मात्रै नभएर अन्य वडाहरुमा समेत क्रमश लगन संकलनमा समेटिएकाहरुले लालपूर्जा प्राप्त गर्ने भएका छन् । कोहलपुर १५ मध्ये १२ वटा वडामा लगत संकलन भइसकेको छ । केही वडामा मात्रै बाँकी रहेको आफ्नो पालामा कोहलपुरका सबै वडाका नागरिकले लालपूर्जा प्राप्त गर्ने नगर प्रमुख आचार्यले जानकारी दिए । कोहलपुर नगरपालिकामा १५ वटा वडा रहेका छन् ।

  • २५ फाल्गुन २०८०, शुक्रबार ०८:१२ प्रकाशित

  • Nabintech