विदेशको मोह त्यागेर गाउँमा हरियाली: सुशील रावलको कृषि क्रान्ति

  • नमस्ते कर्णाली

  • साउन ३०, २०८२

    जुम्ला ।जुम्लाको छिना गाउँको बिहान, जहाँ घामको पहिलो किरण खेतको मुहानमा टल्किन्छ, हरियो टनेलभित्र लटरम्म झुन्डिएका काँक्रा, अकबरे खुर्सानीको सुगन्ध र मकैको बास्नाले हावालाई नै ताजा बनाउँछ। यस्तै दृश्यबीच, हातमा खुरपी समातेका सुशील रावल मुस्कुराउँदै खेत जोतिरहेका हुन्छन्।

    २०७७ सालमा जापानको भिसा हातमा लिएर उड्न तयार सुशीलले अन्तिम क्षणमा विदेशको मोह त्यागेर गाउँ फर्किने निर्णय गरे। “अर्काको देशमा श्रम बेच्नु भन्दा आफ्नै देशमा केही गर्नुपर्छ,” उनले मनभित्रै कसम खाए। महलभन्दा झुपडी, डलरभन्दा माटोसँगको मितेरी रोज्दै उनी कृषि उद्यममा होमिए।

    १२ रोपनीबाट सुरु, १५ लाखको वार्षिक कारोबार

    गाउँ फर्किएलगत्तै उनले छिना ज्यूलोमा १२ रोपनी जग्गा लिजमा लिए। सुरुमा जम्मा १० हजार रुपैयाँको लगानीबाट ओखरको बिरुवा उत्पादन थाले। सात वर्षको मेहनतपछि आज उनको वार्षिक कारोबार १५ लाख रुपैयाँ नाघेको छ। मौसमी र बेमौसमी तरकारी—कुरिलो, ब्रोकोली, स्क्व्यास, अकबरे खुर्सानी, टमाटर, काँक्रा, फर्सी, आलु, काउलीदेखि स्याउ र ओखरका ग्राफ्टिङ बिरुवा, स्टोबेरीसम्म उनका बारीमा फस्टाएका छन्।

    १० युवालाई रोजगारी, गाउँमै आत्मनिर्भरता

    सुशीलको सफलताले उनी मात्रै होइन, गाउँका अन्य १० बेरोजगार युवालाई पनि स्थायी रोजगारी दिएको छ। उनका उत्पादन जुम्लाका होटलदेखि मण्डीसम्म सहजै बिक्री हुन्छन्। हिउँदमा टनेलभित्र बेमौसमी तरकारी उत्पादन गर्ने उनको योजना वर्षभर उत्पादन कायम राख्छ। अब उनले खेतीको क्षेत्र विस्तार गर्दै अझ धेरै युवालाई रोजगारी दिने लक्ष्य बनाएका छन्।

    नीति र बजारको चुनौती

    यद्यपि सुशीलसँग गुनासो पनि छ—जुम्लाका आठ स्थानीय तहले झण्डै तीन अर्बको बजेट ल्याए पनि कृषकलाई जोड्ने ठोस नीति छैन। “भारतीय तरकारी बजारको एकाधिकारले हाम्रो अर्गानिक उत्पादनलाई मूल्य दिन सकिरहेको छैन,” उनी भन्छन्। उपभोक्ताले गुणस्तरभन्दा सस्तो रोज्दा कृषकलाई घाटा हुने उनको पीडा छ।

    गाउँमै सम्भावना र प्रेरणा

    कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, सुशीलले प्रमाणित गरेका छन्—गाउँमै बसेर पनि ठूलो सम्भावना छ। सुशीलको कथा व्यक्तिगत सफलताको मात्र होइन, ग्रामीण सम्भावना, आत्मनिर्भरता र श्रमको सम्मानको कथा हो। उनले विदेशतर्फको युवाको धार उल्ट्याउँदै, गाउँमै हरियाली र आशाको बीउ रोपेका छन्।

     


     

  • ३१ श्रावण २०८२, शुक्रबार ०९:४३ प्रकाशित

  • Nabintech