१, भाद्र २०८२
बर्दिया ।बर्दियाको गुलरिया नगरपालिका वडा नं ११ भैँसाही स्थित चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाले आक्रमण गर्दा सोही ठाउँ बस्ने ४५ वर्षिय जगतरानी थारूको मृत्यु भएको हो ।
धान गोड्नका लागि शुक्रबार साँझ मृतक जगतरानी खेतमा जानु भएको थियो । राती अबेर सम्म घर नआएपछि कसैको घरमा बसेको भनेर खोजबिन गरिएको थिएन । आज बिहान देखि मात्र खोजबिन गर्दा उखुबारी भित्र शरिर र टाउको छुट्टिएको अवस्थामा मृतक थारूको शव फेला परेको थियो । थारूलाई उखुबारीबाट आएको चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयले बताएका छन् । उखुबारीमा महिलाको शव फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।
शवको प्रकृति हेर्दा चितुवाले आक्रमण गरेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । कुन जनावरले आक्रमण गरेको हो भन्ने पोष्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक चक्रबहादुर डमरपालले बताउनु भयो ।
शवको पोष्टमार्टम नगर्दा सम्म कुन जनावरले आक्रमण गरेको भन्ने यकिनका साथ भन्न नसकिने डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी रामकुमार चौधरीले बताउनु भयो । उहाँले शवको वरपर चितुवाको पाइला देखिएको बताउनु भयो । शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल लगिएको छ ।
थारूमाथी आक्रमण भएको स्थान नदीको किनार र सामुदायीक वनको छेउमा पर्दछ । सो क्षेत्रमा चितुवा देखिने गरेको र पटक पटक सम्बन्धीत निकायलाई खबर गर्दा समेत चितुवा समात्न नआएको गुलरिया नगरपालिका वडा नं १२ सुर्यगौडीका साबिर अलि गद्दीले बताउनु भयो । चितुवाले गाउँमा घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको उहाँले बताउनु भयो ।
यस अघि बबई नदीको छेउमा पर्ने गुलरिया नगरपालिका वडा नं ५मा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।