१, भदौ २०८२
जुम्ला।जुम्ला सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टाको यात्रा गरेपछि पुगिने गुठिचौर गाउँपालिका–३ हरिवाडामा पुराना पाण्डवकालीन देवलहरू अहिले जीर्ण अवस्थामा पुगेका छन्। रमणीय गाउँको हरियाली, धान र मकैले भरिएका खेत तथा खोलाको सुस्साहटबीच देवलले छुट्टै आकर्षण पैदा गर्छन्। तर, समयसँगै यी मौन ऐतिहासिक संरचना बर्बाद हुँदै गइरहेका छन्।
स्थानीय ज्येष्ठबासीका अनुसार, महाभारतकालमा पाण्डवले वनवासमा यहाँ आइ धर्मस्थल निर्माण गरेका थिए भन्ने किंवदन्ती रहिआएको छ। पुरानो पुस्ताले गर्वसाथ सुनाउने यो कथा अझै अनुसन्धान गर्नुपर्ने भए पनि स्थानीयको धार्मिक र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ।
देवलका ढुङ्गामा कुँदिएका देवीदेवताका प्रतिमा, ज्यामितीय आकृति र पुरानो शैलीका बुट्टाले यसलाई केवल धार्मिक स्थल मात्र नभई पुरातात्त्विक धरोहरको रूपमा स्थापित गरेका छन्। तर, कतै ढुङ्गामा चिरा परेका छन्, कतै माथिल्लो भाग भत्किएर हराइसकेका छन्। संरक्षणको कमीले केही वर्षमै सम्पूर्ण संरचना ढुङ्गाको थुप्रोमा परिणत हुने खतरा देखिएको छ।
“सदरमुकामदेखि बाटो सजिलो छ, पर्यटक सहजै आउन सक्छन्। तर कसैको आँखा परेको छैन,” गाउँकै जग्गादाता भिमबहादुर भण्डारी गुनासो गर्छन्। त्यस्तै, स्थानीय युवा राजबिक्रम रावल भन्छन्, “पूर्ण पुनर्निर्माण होइन, मर्मत र घेरबार मात्रै भए पनि सम्पदा सुरक्षित हुन्छ, पर्यटन व्यवसायमा ठूलो लाभ लिन सकिन्छ।”
हरिवाडामात्र नभई गुठिचौर–३ गर्ज्याङ्गकोट र वडा नम्बर ४ दशौंदीमा रहेका अन्य देवल पनि उस्तै संकटमा छन्। उपेक्षा, जीर्णता र बेवास्ताले सम्पदा हराउँदै गएको स्थानीयको पीडा साझा छ।
विशेषज्ञहरूको भनाइमा, ढुङ्गामा कुँदिएको कला, पुरातात्त्विक महत्व र धार्मिक विश्वासले यी देवललाई धार्मिक पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न सकिन्छ। यसले जुम्लाको धार्मिक तथा सांस्कृतिक मार्गचित्रलाई नयाँ गन्तव्य दिन सक्छ।
तर, अहिलेसम्म न स्थानीय तह, न पुरातत्त्व विभाग, न केन्द्र सरकारको ध्यान गएको छ। ढुङ्गा खस्दै छन्, भित्तामा चिरा पर्न थालेका छन् र स्थानीयको मानसपटलबाट गौरव हराउँदै गएको छ।
यी देवल केवल ढुङ्गा होइनन्, जुम्लाको इतिहास, संस्कार र पहिचान बोकेका मौन साक्षी हुन्। बेलैमा संरक्षण भएन भने, केही वर्षपछि यहाँका मानिसहरूले मात्र भन्नुपर्नेछ—“यतै कतै देवल थियो रे।”
अब समय छ स्थानीय समुदाय, सरकार र सम्बन्धित निकाय मिलेर यी धरोहरलाई जोगाउने पहल गर्ने।