जेनजी आन्दोलनमा बाँकेमा तीन सयभन्दा बढी सवारी साधन नष्ट

  • नमस्ते कर्णाली

  • ३ , असोज २०८२
    बाँके ।भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा बाँके जिल्लाका विभिन्न सरकारी तथा स्थानीय तहका कार्यालयमा आगजनी र तोडफोड हुँदा तीन सयभन्दा बढी सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन्।

    नेपालगन्ज भन्सार कार्यालयमा मात्रै दुई सयभन्दा बढी कार, भ्यान र मोटरसाइकल जलेर ध्वस्त भएका छन्। भन्सार प्रमुख जनार्दन पौडेलका अनुसार लिलामीका लागि राखिएका र कार्यालयका कर्मचारीका नाममा दर्ता भएका सवारी साधन नष्ट हुँदा करिब सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

    नेपालगन्ज उपमहानगरपालिकामा समेत एक एम्बुलेन्ससहित ३० वटा सवारी साधन जलेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिनुभयो। त्यस्तै, कोहलपुर नगरपालिकामा १५ वटा सवारी साधन नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जनाउनुभयो। उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा पनि नौ वटा सवारी साधन ध्वस्त भएको सूचना अधिकारी बलबहादुर बिष्टले बताउनुभयो।

    यसैगरी जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, नापी कार्यालय, प्रहरी कार्यालय जयसपुर, कृषि ज्ञान केन्द्र बाँके, राजस्व अनुसन्धान कार्यालय कोहलपुर र इलाका प्रशासन कार्यालय कोहलपुरमा रहेका सवारी साधन पनि क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार क्षतिको तथ्यांक अझै संकलन भइरहेको भए पनि क्षति अत्यधिक भएको स्पष्ट भइसकेको छ।

     

  • ३ आश्विन २०८२, शुक्रबार १०:३६ प्रकाशित

  • Nabintech