जुम्ला, २ भदौं ।
२०८० साल भदौ १४ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत जुम्लामा पुगेका थिए । बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेर डायलसिस सेवाको उद्घाटन गरे । उनले उद्घाटन गरे पनि सेवा सुरु हुन सकेको थिएन ।
लगत्तै प्राविधिक जनशक्ति र आवश्यक उपकरण अभावका कारण डायलासिस सेवा रोकिएको थियो । तर, अहिले उक्त सेवा दुई वर्षपछि डायलसिस सेवा सुरु भएको छ । छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका–२ की जिरकला बियारको पहिलो डायलसिस भएको हो । ‘आर्थिक अभाव थियो । मिर्गौलाको उपचार जुम्लामा हुन्न कि भन्ने अन्योल थियो,’ बियारले भनिन्, ‘पहिलो डायलासिस सेवा लिन पाउँदा निकै उत्साहित छु ।’ उनले यो सेवालाई निरन्तर अघि बढाउन समेत उनले माग गरिन् । पहिले डालयसिस गर्न महँगो जहाजभाडा तिरेर नेपालगन्ज, काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो ।
अब जुम्लामै सुरु हुँदा राहतको महसुस भइरहेको बिरामीहरु बताउँछन् । कर्णालीमा न मिर्गौला रोगीका लागि औषधी उपचार थियो, न त डायलसिस सेवा नै । ‘बिरामीहरु रोग थन्काएर बस्नु परिरहेको थियो’ स्थानीय परिलाल थापाले भने, ‘अहिले औषधी उपचार पनि छ । डायलसिस सेवा पनि सुरु भइसकेको छ । अब निरन्तर सेवाको खाँचो मात्र छ ।’ अब कर्णाली प्रदेशसहित पश्चिम नेपालका मिर्गौला पीडितले डायलसिसका लागि महँगो खर्च गरेर बाहिर जानु नपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानकी नर्सिङ डाइरेक्टर सविना थापाले डायलसिस सेवाले कर्णालीवासीले राहतको अनुभूति गर्ने बताइन् । स्वच्छ पानीको पहुँच पर्याप्त रुपमा नपुगेका कारण कर्णालीमा मिर्गौलाका बिरामीको संख्या धेरै भएको चिकित्सक बताउँछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहप्रध्यापक डाक्टर पुजनकुमार रोकायाले डायलसिस सेवा निरन्तर रुपमा चल्ने बताए ।
उनले भने, ‘पहिले जनशक्ति, औषधि, उपकरणबीचको तालमेल मिलेको थिएन । अहिले सबै तयारी पूरा भएर सेवा सुरु भएको छ, अब रोकिँदैन ।’ यहाँ डायलसिस गर्न ४ वटा मेसिन तयारी अवस्थामा छन् । दुई मेसिन सञ्चालनमा ल्याएर सेवा प्रदान भइरहेको छ ।