श्री कनकमुनी माविमा शिक्षक बिदाइ : “विद्यालय परिवारसँग छुट्टिनु पीडादायी”

“अवकाश प्राप्त शिक्षकहरूको अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शनको खजाना हो। असल नेतृत्व, अनुशासन र प्रविधिमैत्री शिक्षा प्रणालीले विद्यालयलाई रूपान्तरणको बाटोमा अगाडि बढाउँछ।”सूचना अधिकारी भुषाल


  • नमस्ते कर्णाली

  • ५, भदौ २०८२

    कपिलवस्तु ।कपिलवस्तु नगरपालिका–९ श्रीनगरस्थित श्री कनकमुनी माध्यमिक विद्यालयमा बुधबार आयोजित एक विशेष समारोहका बीच अवकाश प्राप्त तथा शिक्षक सेवा पास भई अन्यत्र जाने चार जना शिक्षकलाई सम्मानपूर्वक बिदाइ गरिएको छ।

    प्रधानाध्यापक दुर्गाबहादुर खत्रीले स्वागत मन्तव्य राख्दै अवकाश प्राप्त शिक्षकहरूको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “विद्यालयमा योगदान पुर्‍याउनुहुने सरहरूको जीवन आगामी दिनमा सुखमय रहोस् भन्ने हाम्रो शुभकामना छ। अवकाश भइसकेर पनि विद्यालयलाई निरन्तर सल्लाह र सुझाव दिनुहुने अपेक्षा राखेको बताउनुभएको छ।

    यस्तै सहायक प्रधानाध्यापक बंशिधर हलुवाईले बिदाइ मन्तव्य दिँदै भन्नुभयो, “शिक्षक मात्र किताबमा सीमित नभई समाजका विविध क्षेत्रमा पनि सक्रिय हुनुपर्छ। बिदाइ हुने शिक्षकहरूले पनि समाजमा अझ योगदान दिनुहुनेछ भन्ने विश्वास लिइएको धारणा राख्नुभएको छ।”

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रराम यादवले, “अवकाश प्राप्त शिक्षकहरूले विद्यालयको उत्थानमा पुर्‍याएको योगदान अमूल्य छ। उहाँहरूको जीवन सुखद रहोस् भन्ने हाम्रो शुभकामना छ। पदोन्नति भई अन्यत्र जाने शिक्षकको भविष्य उज्ज्वल रहोस् र विद्यालयसँग निरन्तर सहकार्य रहोस् भन्ने हाम्रो अपेक्षा छ,” उहाँले भन्नुभयो।

    विशिष्ट अतिथि तथा विद्यालयका पूर्व अध्यक्ष अब्दुल रसिद खाँले पनि विद्यालयको प्रगति बिदाइ हुने शिक्षकहरूको मेहनत र समर्पणकै फल भएको बताउँदै उहाँहरूको योगदानलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।

    त्यस्तै, शिक्षा, युवा तथा खेलकुद शाखाका सूचना अधिकारी युवराज भुषालले अवकाश प्राप्त शिक्षकहरूको अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शनको खजाना हो। असल नेतृत्व, अनुशासन र प्रविधिमैत्री शिक्षा प्रणालीले विद्यालयलाई रूपान्तरणको बाटोमा अगाडि बढाउँछ।”
    उहाँले नगरपालिकाका सरकारी र संस्थागत विद्यालयबीचको गुणस्तरमा समानता ल्याउन कटिबद्ध छ। यस यात्रामा शिक्षकहरूको योगदान अपरिहार्य रहेको बताउनु भएको छ।”


    बिदाइ भएका शिक्षकहरूमध्ये पूर्व प्रधानाध्यापक आफद अहमद खाँले भावुक हुँदै विद्यालयसँग बिताएका दिन सम्झिँदै भन्नुभयो, “यो विद्यालय मेरो जीवनको महत्वपूर्ण हिस्सा हो। सहकर्मी, विद्यार्थी र समुदायसँग छुटिनु निकै पीडादायी छ। तर यहाँको अनुभव र साथ जीवनभर स्मरणीय रहनेछ।”

    त्यस्तै, शिक्षक युवराज अर्यालले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो “मैले यस विद्यालयमा रहेर विद्यार्थीको भविष्य बनाउन सकेकोमा गर्व गर्छु। यस विद्यालयको माया र सहयोगले मलाई सधैं प्रेरित गर्नेछ।”
    उहाँले विद्यालय परिवारलाई धन्यवाद दिँदै भन्नुभयो, “विद्यार्थी र सहकर्मी शिक्षकहरूले दिएको साथका कारण मैले सहज वातावरणमा काम गर्न पाएँ। यो विद्यालय मेरो लागि दोस्रो घरजस्तै बनेको थियो।”

    बिदाइ गरिएका शिक्षकहरूमा पूर्व प्रधानाध्यापक आफद अहमद खाँ, शिक्षक युवराज अर्याल, गयाप्रसाद चौधरी तथा शिक्षक सेवा पास भई स्थानान्तरण भएका सन्दीप चौधरी कुर्मी रहेका थिए। उनीहरूलाई दोसाला ओढाइ, सम्मानपत्र र मायाको चिनो अर्पण गर्दै बिदाइ गरिएको थियो।

    समारोहको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रराम यादवले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक दीपक थापाले गर्नुभएको थियो।

    कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष ललित गुरुङ, अब्दुल सतर खाँ, विद्यालय व्यवस्थापन समिति सदस्य राजेश चौहान, बिरमती चौधरी, इन्द्र प्रसाद हरिजन, राजमती खटिक, शिक्षक प्रतिनिधि विनोद कुमार यादव, उमा दर्जी, शिला मौर्य, सुशिला पासी, महोम्मद मुस्ताफा जोलाह, शिक्षक–अभिभावक संघका अध्यक्ष जयप्रकाश यादव लगायत विद्यालयका शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो।

     

  • ५ भाद्र २०८२, बिहीबार ०७:३७ प्रकाशित

  • Nabintech