५, भदौ २०८२
सुर्खेत ।नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेत जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशन आज (बिहिबार) हुँदैछ। आगामी कात्तिक १४ र १५ गते केन्द्रीय अधिवेशन आयोजना हुने भएकाले महासंघले जिल्ला अधिवेशन गर्न लागेको हो। अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा हुने बताइएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने जानकारी दिए। उनका अनुसार महासंघ केन्द्रको निर्देशनअनुसार अधिवेशन आयोजना गर्न लागिएको हो।
पत्रकार सम्मेलनमा अध्यक्ष योगीले हालै रुकुम पश्चिममा प्रदेश कार्यसमितिको नाममा गरिएको अधिवेशनलाई अवैध घोषणा गर्दै खारेज भएको दाबी गरे। उनले १९ साउन २०८२ मा केन्द्रीय कार्यसमितिले सुर्खेत र दैलेखमा उपाध्यक्ष वीरबहादुर नेपाली तथा मुगु, डोल्पा, हुम्ला र जुम्लामा उपाध्यक्ष सुरबहादुर बुढालाई जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिएकाले रुकुम पश्चिममा गरिएको अधिवेशन खारेज भएको बताए।
यसैगरी उनले कर्णाली प्रदेश समितिले २०७५ माघमा सम्पन्न दोस्रो राष्ट्रिय औद्योगिक, व्यापार, कृषि, नवीनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सवको आय–व्यय अहिलेसम्म सार्वजनिक नगरेको आरोप लगाए। उनका अनुसार महोत्सवको हिसाब माग्दा प्रदेश अध्यक्ष चन्द्रबहादुर विसी, प्रदेश महिला उद्यमी समितिका अध्यक्ष गोमा वली र नगर अध्यक्ष शक्तिबहादुर थापा सम्पर्कविहीन हुने गरेका छन्।
योगीले प्रदेश समितिले विधान विपरीत सुर्खेत जिल्ला कार्यसमितिलाई खारेज गरिएको हल्ला फैलाए पनि केन्द्रकै पत्रले त्यसलाई अस्वीकार गरिसकेको स्पष्ट पारे। साथै, उनले प्रदेश नेतृत्वले कार्यालयका फर्निचर र कागजातसमेत गैर सदस्यलाई संलग्न गराई बलपूर्वक लगेको आरोपसमेत लगाए।











