९, भदौ २०८२
बाजुरा ।बाजुराको पूर्वोत्तरी क्षेत्र कोल्टीबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले त्यहाँका चारवटा स्थानीय तहका नागरिकलाई सहज सेवा उपलब्ध गराउनका लागि सेवा प्रारम्भ गरेको हो ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेघनाथ पाध्याले वर्षायाममा परिचयपत्र बनाउन जिल्लाको सदरमुकाम पुग्नुपर्ने बाध्यताले स्थानीय नागरिकलाई पर्न गएको समस्या समाधान गर्न कोल्टीमै सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट थप गरिएको स्टेशन कोल्टीमा राखेर करिब एक महिनासम्म सेवा प्रवाह हुनेछ ।
उक्त सेवाको आइतबार प्रजिअ पाध्या, सहायक प्रजिअ शीतल बहादुर रावल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया तथा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूको उपस्थितिमा औपचारिक शुभारम्भ गरिएको हो ।
यसअघि राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयमै लाइनमा लामो समय बस्नुपर्ने बाध्यता थियो । तर अब जिल्लाको पूर्वोत्तरी भेगका चारवटा पालिकाको केन्द्र मानिएको कोल्टीमै सेवा उपलब्ध भएपछि स्थानीय नागरिकहरू उत्साहित भएका छन् ।