बाँकेका बजारमा कर्णालीको जुम्ली स्याउ छ्यापछ्याप्ती।

  • नमस्ते कर्णाली

  • भदौ ११, २०८२

    बाँके । बाँकेको नेपालगन्ज र कोहलपुरलगायतका बजारमा कर्णाली प्रदेशको जुम्ली स्याउको माग ह्वात्तै बढेको छ। भारत र चीनबाट आयात हुने स्याउ बजारबाट हराउँदै गएको छ भने हरेक पसलदेखि सडक छेउका ठेलासम्म कर्णालीकै स्याउले बजार ओगटेको छ।

    करिब एक महिनाअघि भित्रिएको जुम्ली स्याउ सुरुमा प्रतिकिलो २००–२२० रुपैयाँमा बिक्री भएकोमा अहिले मूल्य घटेर १३०–१५० रुपैयाँमै उपलब्ध भएको व्यापारीहरूले बताएका छन्। मूल्य घटेसँगै ग्राहकको आकर्षण झन् बढेको छ।

    कोहलपुरकी फलफूल व्यापारी इन्दु गौतम भन्नुहुन्छ “हाल ग्राहकहरू विदेशी स्याउभन्दा जुम्ली स्याउ नै बढी माग्छन्। स्वादिलो, ताजा र किफायती भएकाले यसको बिक्री दिनदिनै बढिरहेको छ।”

    फलफूल व्यापारी श्याम गिरीका अनुसार चाइनिज फुजी स्याउ थोरै मात्रामा बिक्री भए पनि नेपाली स्याउकै माग अत्यधिक छ। “भारतीय स्याउ त बजारमै देखिँदैन, जताततै जुम्ली स्याउले कब्जा जमाइसकेको छ,” उहाँले बताउनु भयो।

    नेपालगन्जका उपभोक्ता समिर खान भन्नुहुन्छ, “पहिले २२० रुपैयाँमा स्याउ किन्न्थें, अहिले १४०–१५० रुपैयाँमै पाइन्छ। स्वाद पनि अन्य स्याउभन्दा निकै राम्रो छ।”

    नेपालगन्जका मुख्य चोकहरू—पुष्पलाल, धम्बोझी, बिपी चोकदेखि कोहलपुर र खजुरा बजारसम्म ठेला तथा पसलहरूमा जुम्ली स्याउ मात्र विक्री भइरहेको छ।
    स्थानीय फलफूल व्यवसायी रमजान कबडियाका अनुसार भारतीय स्याउ महँगो र कम स्वादिलो भएकाले हाल बजारमा बिक्री हुन छाडेको छ। “भारतीय स्याउ प्रतिकिलो २५० रुपैयाँमा पथ्र्यो, तर कर्णालीको गुणस्तरीय स्याउ १५० रुपैयाँमै पाइन थालेपछि विदेशी स्याउ केहि विस्थापित भयो,” उहाँले भन्नुभयो

    कोहलपुरस्थित थोक व्यापारी केपी अधिकारीले अहिले कोहलपुर, नेपालगन्ज र खजुरामा दैनिक ३–५ टन कर्णालीको स्याउ बिक्री भइरहेको जानकारी दिनुभयो।

    त्यसैगरी नेपालगन्जका थोक व्यापारी शमशेर मियाँले नेपालगन्ज बजारमै दैनिक पाँच टनभन्दा बढी स्याउ बिक्री हुने गरेको बताउनुभयो। उहाँका अनुसार माग बढेसँगै कर्णालीको स्याउ भारततर्फ समेत पठाउन थालिएको छ।


    कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्थाका अनुसार माग बढेसँगै ठूलो परिमाणमा जुम्ली स्याउ भण्डारण गरिएको छ र आपूर्ति निरन्तर जारी छ।

    नेपालगन्ज र कोहलपुरका बजारमा अहिले जताततै देखिने जुम्ली स्याउले कर्णाली प्रदेशका किसानलाई प्रत्यक्ष लाभ पु¥याइरहेको छ भने उपभोक्ताले सस्तो र स्वादिलो स्वदेशी फलफूल उपभोग गर्ने अवसर पाएका छन्।

     

  • ११ भाद्र २०८२, बुधबार ०६:११ प्रकाशित

  • Nabintech