भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभ बिरामीले निःशुल्क डायलाइसिस सेवा पाउने

  • नमस्ते कर्णाली

  • १०, भदौ २०८२
    बाँके ।नेपालगन्जस्थित भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीहरुले निःशुल्क डायलाइसिस सेवा पाउने भएका छन्। यसअघि उनीहरुले सेवा लिनका लागि आर्थिक भार थेग्नु परेको थियो।

    स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका–२०८० अन्तर्गत भेरी अस्पताललाई सूचिकृत गरेसँगै नयाँ समूहका बिरामीहरुलाई राहत मिल्ने भएको हो। अस्पताल सूचिकृत भएसँगै डायलाइसिस खर्चका कारण उपचारमा समस्या भोग्दै आएका बिरामीहरु ठूलो फाइदा पाउनेछन्।

    भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार सो सेवा आउँदो बुधबारदेखि सुरु हुने भएको छ। यसअघि जेष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डायलाइसिस, स्पाइन इन्जुरी, हेड इन्जुरी र मुटुका बिरामीहरुले यस कार्यक्रम अन्तर्गत निःशुल्क सेवा पाउँदै आएका थिए।

    यस्तै, भेरी अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचिकृत गर्ने अन्तिम तयारी भइरहेको छ। सूचिकृत भएमा मिर्गौला प्रत्यारोपण गराएका बिरामीले भेरी अस्पतालमै ७ लाख रुपैयाँको सहयोग पाउनेछन्। सरकारले प्रत्यारोपणका लागि ४ लाख, औषधि खर्चमा २ लाख र थप १ लाख उपलब्ध गराउने व्यवस्था गरेको छ।

    यसअघि वीर अस्पतालका युरो विभाग प्रमुख डा. रविन बस्नेतको नेतृत्वमा गरिएको अध्ययन प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाइसकिएको छ। भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसके पनि सूचिकृत नभएकाले बिरामीहरुले आर्थिक सहयोग पाउन सकेका थिएनन्। अहिले सूचिकृत भएपछि उपचारमा सहजता हुने अपेक्षा गरिएको छ।

    यसरी, भेरी अस्पताल सूचिकृत भएपछि अब अल्जाइमर्स, पार्किन्सन्स, सेरोपोजेटिभसहित मिर्गौला प्रत्यारोपण गराएका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ।

  • ११ भाद्र २०८२, बुधबार ०६:२२ प्रकाशित

  • Nabintech