२,असोज २०८२
बर्दिया ।बर्दिया जिल्लालाई द्वन्द्वकालमा सबैभन्दा बढी बेपत्ता भएको जिल्ला मानिन्छ। यही पीडा र सम्झनालाई जीवित राख्दै २०६६ सालमा बारबर्दिया नगरपालिका–१० मा कुम्भर अड्डास्थित बेपत्ता योद्धा स्मृति पार्क निर्माण गरिएको हो।
एतिहासिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने यस पार्कमा प्रदर्शनी सुरु भएपछि आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दै गएको छ। यहाँ आउनेहरूले रमाइलोसँगै बेपत्ताहरूको कथा, पीडा र इतिहास बुझ्ने अवसर पाउने गरेका छन्।
पार्कभित्र आशाको बाटो, स्मृति वृक्ष, स्मृति स्तम्भ, स्मृति प्रतीक्षालय, स्मृति भित्त, स्मृति संग्रहालय र स्मृति पोखरी जस्ता स्थलहरू रहेका छन्। बेपत्ताका परिवार र आफन्तका लागि यो स्थान आपसी भेटघाट, सम्झना र पीडा साटासाट गर्ने थलो बनेको बेपत्ता परिवारका सदस्य गरिवा थारुले बताउनुभयो।
स्मृति संग्रहालयमा हालसम्म ६८ जना बेपत्ता व्यक्तिहरूका व्यक्तिगत सामग्री (कपडा, नोटबुक, कुर्सी, थाल आदि) सुरक्षित राखिएका छन्। साथै, २५८ जना बेपत्ताको नाम अंकित चार मुखे स्तम्भ र २४ वटा माटोका कलात्मक मूर्तिहरू पनि राखिएका छन्, जसले बेपत्ताहरूको जीवन, पेशा र थारु समुदायको पहिचान झल्काउने गरेको पार्क व्यवस्थापन समितिका अध्यक्ष निरन्जन कुमार चौधरीले बताउनुभयो।
नेपालमै पहिलोपटक स्थापना गरिएको यो स्मृति पार्क दीर्घकालीन व्यवस्थापन र प्रवर्द्धनका लागि तीनै तहका सरकारले विस्तृत योजना बनाएर अघि बढेमा भविष्यमा आन्तरिक मात्र होइन, विदेशी पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।











