कपिलवस्तु,१६ भदौ ।
अठारौँ राष्ट्रिय पुस्तकालय दिवस–२०८२ को अवसरमा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र पिस नेपालको सहकार्यमा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका , बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकाका ४८ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जसमध्ये ३३ वटा पुस्तकालय सञ्चालनको तयारीमा रहेका छन् भने थप १५ वटा पुस्तकालय स्थानीय पालिकाको सहकार्यमा स्थापना गर्ने तयारी भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घोषणा गरेको यस वर्षको पुस्तकालय दिवसको नारा “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” लाई सार्थकता दिन विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो । यस अभियानमार्फत नेपालमा गुणस्तरीय शिक्षा र साक्षरताको प्रवर्द्धन गर्ने लक्ष्य रुम टु रिडले लिएको छ ।
रुम टु रिडका कपिलवस्तु जिल्लाका फिल्ड व्यवस्थापक दिनेश पोख्रेलले विद्यालय पुस्तकालय स्थापना गर्नुको उद्देश्य बालबालिकामा पठन संस्कृतिको विकास गर्नु रहेको बताउनुभयो। उहाँले बालबालिकाले उमेर, रुचि र सिकाइ शैलीअनुसारका चित्रपुस्तकमा सहज पहुँच पाउन सकून् भन्ने उद्देश्यले पुस्तकालयलाई बालमैत्री ढंगले व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो।

यस अवसरमा जिल्लाका तीन पालिकामा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । मायादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख माधव पौडेलले पुस्तकालय स्थापना कार्य सराहनीय रहेको बताउँदै भन्नुभयो, “विद्यार्थी हाम्रो देशका कर्णधार हुन् । पठन संस्कृतिको विकासले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ, त्यसैले पालिका सधैं सहयोगमा रहनेछ ।”
त्यसैगरी कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले पछिल्लो समय पुस्तकालय क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “सूचना प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालयलाई विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्न जरुरी छ । रुम टु रिड र पिस नेपालले गरेको कार्य प्रशंसनीय छ, नगरपालिकाले पनि निरन्तर साथ दिनेछ ।”

बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भट्टराईले पुस्तकालयको महत्व घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास असम्भव छ । त्यसैले बालबालिकामा सानैदेखि पढ्ने बानी विकास गर्न आवश्यक छ, यसका लागि रुम टु रिड र पिस नेपालले गरेको कार्य प्रशंसनीय छ ।”
कार्यक्रममा पिस नेपालका कार्यक्रम प्रबन्धक योगेन्द्र बुढाले पालिकाहरूको सहकार्यप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थीहरू मोबाइलतर्फ बढी आकर्षित हुँदै गएका छन्, तर मोबाइल केवल साधन मात्र हो । वास्तविक ज्ञान र शिक्षा भने पुस्तकालयबाट नै प्राप्त हुन्छ ।”

उद्घाटन कार्यक्रममा रुम टु रिडका साक्षरता अधिकृत दिल धामी, पिस नेपालका साक्षरता अधिकृत देव ढेंगा मगर, साक्षरता सहजकर्ता सुमित्रा भट्टराई, नागेन्द्र यादव, सतेन्द्रमणि त्रिपाठी र सीता गिरी लगायतको सक्रिय सहभागिता रहेको थियो ।
विद्यालय पुस्तकालय उद्घाटन छुट्टाछुट्टै समयमा वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवी, प्रधानाध्यापक ,शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा उत्साहपूर्वक सम्पन्न गरिएको थियो ।












