पर्यटन, वन र कृषिमा आधारित उद्यमलाई वित्तीय सहयोग: बाँके–बर्दियामा आयआर्जन र रोजगारीमा टेवा

  • नमस्ते कर्णाली

  • २१, भदौ २०८२
    बाँके ।बाँके र बर्दियामा पर्यटन, वन र कृषिमा आधारित उद्यमहरूको वृद्धि र विकासका लागि प्रदान गरिएको वित्तीय अनुदानले स्थानीय आयआर्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। अनुदानको सहायताले उद्योगहरूको प्रवर्द्धनसँगै जैविक विविधता संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र ग्रामीण पर्यटन विकासमा सहयोग पुग्ने देखिएको छ।

    सम्बर्धन परियोजनाअन्तर्गत हालै दुवै जिल्लामा सञ्चालनमा रहेका २१ वटा सामुदायिक उद्यमलाई आर्थिक सहयोग प्रदान गरिएको हो। आड्रा नेपाल जीविकोपार्जन परियोजनाका प्रमुख कबिरत्न स्थापितका अनुसार, यी उद्यमहरूले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने मात्र नभई वन्यजन्तु संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्न पनि टेवा दिनेछन्।

    जीविकोपार्जन सबलीकरण वित्तीय सहयोग कार्यक्रम अन्तर्गत दिगो वन व्यवस्थापन, वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि, जलवायु परिवर्तनका असरबारे सचेतना फैलाउने कार्य, विद्यालयस्तरीय वातावरणीय शिक्षा, साथै पर्या–पर्यटन प्रवर्द्धनमा आधारित उद्यमलाई सहयोग गरिएको छ। यसबारे सिद्दिबिनायक सामुदायिक वन, कोहलपुरका अध्यक्ष कृष्ण रानना क्षेत्रीले “अनुदानले सामुदायिक वन र पर्यटनलाई जोडेर दिगो विकासको बाटो खुल्नेछ” भन्ने विश्वास व्यक्त गर्नुभयो।

    बाँके र बर्दियामा सञ्चालनमा आएका होमस्टे, जैविक पार्क, दुनाटपरी उद्योग, कृषिमा आधारित च्याउ उत्पादन, मौरीपालन र गडौला मल उत्पादनलाई पहिलो प्राथमिकतामा राखी अनुदान प्रदान गरिएको छ। यी उद्यमहरू समूहगत रूपमा सञ्चालनमा आएका कारण सामूहिक आयआर्जन बढाउन र गाउँघरमा रोजगार सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।

    बर्दियाको मधुवनकी उद्यमी माया योगी भन्नुहुन्छ, “समूहगत उद्यमलाई प्राप्त आर्थिक सहयोगले हामी उद्यमीलाई थप उत्साह दिएको छ। अब हामीले स्थानीय उत्पादनलाई बजारमा प्रभावकारी रूपमा पुर्‍याउन सक्नेछौं।”

    बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकामा सञ्चालनमा रहेका यी २१ सामुदायिक उद्यमलाई हालसम्म २ करोड ३४ लाख रुपैयाँ बराबरको वित्तीय सहयोग प्रदान गरिएको छ। यस सहयोगले करिब १० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिलाएको तथ्यांक सार्वजनिक गरिएको छ।

    स्थानीयस्तरमा रोजगारी र आयआर्जन बढाउनुका साथै, यस किसिमको सहयोगले सामुदायिक विकासलाई दिगो बनाउने अपेक्षा गरिएको छ। पर्यटन, वन र कृषिमा आधारित उद्यमहरूको विस्तारले बाँके र बर्दियालाई मात्र नभई समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने सरोकारवालाहरूको विश्वास छ।

  • २२ भाद्र २०८२, आईतवार १४:३५ प्रकाशित

  • Nabintech