बाँकेमा एक वर्षमै १,५३८ जनाको जोखिमपूर्ण यात्राबाट उद्धार

  • नमस्ते कर्णाली

  • २३, भदौ २०८२
    बाँके ।बाँकेमा पछिल्लो एक वर्षको अवधिमा १,५३८ जनालाई जोखिमपूर्ण यात्राबाट सीमा नाकाबाट उद्धार गरिएको छ। तीमध्ये ३३५ जना बाँके जिल्लाका मात्र रहेका छन्। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९औँ राष्ट्रिय दिवसको अवसरमा आइतबार नेपालगन्जमा आयोजित ‘मानव बेचबिखनविरुद्ध अन्तरक्रिया कार्यक्रम’ मा प्रस्तुत गरिएको तथ्याङ्कले यो जानकारी दिएको हो।

    माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कोहलपुरबाट ८०, बैजनाथबाट ६८, नेपालगन्जबाट ५६, खजुराबाट ४७, राप्तीसोनारीबाट ४५, जानकीबाट २०, नरैनापुरबाट १० र डुडुवाबाट ९ जनालाई उद्धार गरिएको छ। यसै अवधिमा खोजतलास तथा उद्धारका लागि ८३३ वटा निवेदन परेकोमा ४३७ जना फेला परेका छन्। तीमध्ये बाँके जिल्लाका मात्रै ११९ जना बेपत्ता भएकामध्ये ११४ जना फेला परिसकेका छन्।

    यस अवसरमा कोइरालाले मानव बेचबिखनको बढ्दो प्रवृत्ति, चुनौती र नियन्त्रणका उपायबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँका अनुसार भौगोलिक अवस्थितिका कारण बाँके हुँदै हुने जोखिमपूर्ण यात्रा बढ्दो क्रममा छ, जसले असुरक्षित यात्रुहरूलाई मानव बेचबिखनमा फस्ने सम्भावना उच्च बनाएको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका तथ्याङ्क पनि चित्त नबुझ्ने खालका छन्। आर्थिक वर्ष २०८१/८२ मा प्रहरी कार्यालयमा ५५५ जनाले खोजतलास तथा उद्धारका लागि निवेदन दिएका थिए। तीमध्ये ५४८ जना फेला पारिएका छन्। सो अवधिमा मानव बेचबिखनसम्बन्धी १२ मुद्दा दर्ता भएका छन्, जसमा ७ वटा मुद्दा बाँकेकै हुन्।

    कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूले मानव बेचबिखनविरुद्ध एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए। नेपालगन्ज उपमहानगरपालिकाकी वरिष्ठ महिला विकास अधिकृत पवित्रा कुमारी पुरी, नरैनापुरकी महिला विकास अधिकृत कृष्णा कुमारी चन्द, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, शक्ति समूहकी निर्मला पौडेल, दमयन्ती फाउन्डेसनकी इन्दु जिसी रावल र अभियान नेपालकी कमला पन्तलगायतले आ–आफ्ना धारणा राख्दै मानव बेचबिखन नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

    सहभागीहरूले हालै नेपालगन्ज सहरमा बग्रेल्ती खुलेका वयस्क मनोरञ्जन केन्द्रहरूले पनि जोखिम बढाएको भन्दै त्यसमा निगरानी आवश्यक रहेको निष्कर्ष निकाले।

    कार्यक्रमको अध्यक्षता गरेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले दिवसको अवसरमा गरिएको अन्तरक्रियालाई जीवन्त रहेको बताउँदै, “अब कार्यान्वयन तहमा प्रभावकारी ढङ्गले अघि बढ्न सबै सरोकारवाला एकीकृत रूपमा लाग्नुपर्ने समय आएको छ,” भन्नुभयो।

    उक्त अन्तरक्रिया कार्यक्रम मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति बाँकेको आयोजना तथा माइती नेपाल, साथी र शक्ति समूहको सहयोग तथा समन्वयमा सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु साहनीले गर्नुभएको थियो।

     

     

  • २३ भाद्र २०८२, सोमबार ०७:३८ प्रकाशित

  • Nabintech