२३, भदौ २०८२
बाँके ।बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शनिवार वृहत्त सरसफाई गरिएको छ। अस्पतालका निमित्त निर्देशक डा. ज्वलन्द पौडेलको नेतृत्वमा चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा कर्मचारीहरूको सक्रिय सहभागितामा अस्पताल परिसर सरसफाई गरिएको हो।
फार्मेसी सुपरभाइजर दिनेश नेपालीका अनुसार बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै सरसफाईलाई नियमित बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो। उहाँका भनाइमा, “यसले क्यान्सरका बिरामीलाई संक्रमण फैलिनबाट रोक्ने मात्र नभई डेंगी, स्क्रव टाइपसजस्ता रोगबाट जोगाउन पनि सहयोग पुर्याउँछ।”
निमित्त निर्देशक डा. पौडेलले सरसफाईलाई अभियानका रूपमा अघि बढाउने योजना रहेको बताए। उहाँले प्रत्येक दुई–दुई सातामा अस्पताल परिसरमा सरसफाई कार्यक्रम गर्ने तयारी गरिएको उल्लेख गर्दै थपे, “यस अभियानको उद्देश्य आफ्नो कार्यालय आफैं सफा राख्ने संस्कृति विकास गर्नु हो।”
यस किसिमको सरसफाई अभियानले बिरामीमैत्री वातावरण निर्माण गर्दै अस्पताल सेवाको गुणस्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ।











