२९, भदौ २०८२
बाँके ।जेनजी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज–१ का २३ वर्षीय सुलभराज श्रेष्ठलाई शुक्रबार राप्ती नदीस्थित सिधानिया घाटमा अन्त्येष्टि गरिएको छ।भने आयुषलाई आज शनिबार ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि उनको शव चार्टर्ड जहाजमार्फत नेपालगञ्ज ल्याइयो। शवलाई नगर परिक्रमा गराउँदै श्रद्धाञ्जली दिइएको थियो। हजारौँको सहभागितासहितको अन्तिम यात्रामा फूलमालाले सजिएको विदाई, रुँदैगएको सहर र शोकाकुल परिवारले सिंगो समाजलाई पीडित बनायो। बुवा नरेन्द्र श्रेष्ठले मुखाग्नि दिएका थिए।

श्रेष्ठसँगै मृत्यु भएका १९ वर्षीय आयुष थापा मगरको शव भने भेरी अस्पतालमा राखिएको थियो। उनको अन्त्येष्टि शनिबार गरिएको परिवारले जनाएको छ।
सिभिल इन्जिनियरिङ अध्ययनरत सुलभराज र फिनल्यान्ड जाने तयारीमा रहेका आयुषको असामयिक निधनले वडा मात्र होइन, सिंगो नेपालगञ्ज स्तब्ध बनेको छ। वडा अध्यक्ष प्रमोद रिजालले भने, “वडाका दुई होनहार युवालाई गुमाउनु हाम्रो लागि मात्र होइन, सिंगो समाजकै ठूलो क्षति हो।”
गत भदौ २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी उनीहरू दुबैको निधन भएको थियो। पाँच दिनसम्म शव पर्खिरहेको परिवारको पीडा र अधूरा बनेका सपनाले सहर शोकमग्न बनेको छ।
यो आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूको संख्या हालसम्म ५१ पुगेको छ।











