लुम्बिनी प्रदेशमा संविधान दिवस युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

  • नमस्ते कर्णाली

  • ३, असोज २०८२
    दाङ-लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । `समृद्ध लुम्बिनी, खुसी नागरिक´मुख्य संकल्पसहित दिवस मनाइएको थियो ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो । `युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ´उहाँले भन्नुभयाे-` लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो । यही लक्ष्यले मुलुकलाई निकास दिनेछ भन्नेमा म विश्वस्त छु ।´

    उहाँले कार्यशैली र तौर-तरिकामा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

    संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने संकल्प बोकेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले संविधान, दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दोस्रो आवधिक योजनालाई आधार मान्दै नीतिगत, संरचनात्मक र कानूनी सुधारका कार्यलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी र जवाफदेही कार्यशैली, नागरिकका गुनासाहरूको समयमै सम्बोधन, मितव्ययिता र सदाचारपूर्ण आचरणलाई प्रवर्द्धन गर्दै सरकार नागरिकलाई सेवा पुर्‍याउनेतर्फ केन्द्रित रहेको छ ।

    प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सभामुख तुलाराम घर्तिमगरले संविधानभित्रैबाट निकास खोजिनुपर्ने बताउनुभयो । `हाम्रो संविधान अब्बल संविधान हो । यही संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिन्छ´उहाँले भन्नुभयाे-` अहिले देखिएको विद्रोहको व्यवस्थापन पनि संविधानभित्रै गर्नुपर्छ । अब सबैले आत्मसमिक्षा गरेर कार्यशैली बदल्न सक्नुपर्छ । जनता असन्तुष्ट हुनेगरी काम गर्नु हुँदैन ।´

     

    पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको बताउनुभयो ।`सबैका आ-आफ्ना गुनासा छन् । ती गुनासालाई संविधानलाई अझ माटोसँग सुहाउने बनाउँदै समेट्न जरुरी छ । यो सबैको कर्तव्य हो । यही संविधानमा टेकेर देशको विकास गर्ने दायित्व सबैकै हो´उहाँले भन्नुभयाे-`सबै नेपालीलाई एक ठाउँमा ल्याउन जरुरी छ । सुशासन र विकास दिन जरुरी छ । अराजकतामा सुशासन खोज्नु जटिल हुन्छ । घुसपैठ र आगजनीको पूर्ण छानबिन हुन जरुरी छ ।´

    त्यसैगरी, पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने बताउनुभयो ।`यो संविधान दस वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गर्दैछ । यो लामो अवधि हो । धेरै परिवर्तन भइरहेका हुन्छन् । अब सामाजिक परिवर्तनको नेतृत्व संविधानले नै गर्नुपर्छ´उहाँले भन्नुभयाे-` विकासको जुन चरण हुन्छ, त्यसलाई संविधानले समेट्दै लैजानुपर्छ । नयाँ समाजलाई दिशा देखाउन सक्ने क्षमता संविधानले राख्दछ ।´उहाँले राजनीतिक अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार ल्याउनुपर्ने धारणा राख्नुभयो ।

    आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुख्यमन्त्री कार्यालयका कानून सचिव लिलाधर सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभाका बिषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरु, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी तथा स्थानीय समुदायकाे सहभागीता रहेकाे थियाे ।

  • ३ आश्विन २०८२, शुक्रबार ११:३० प्रकाशित

  • Nabintech